Sunday, July 22, 2018

रातो युनिकर्न



बाटोमा आफ्नै शुरले मोटरसाईकल गुडाई रहँदा छेवैबाट धेरै सिसि को रातो रंगको युनिकर्न मोटरसाईकल ले ठक्कर दिनै लागेको जस्तो गरि ओभरटेक गर्‍यो । म झसंग भएर सकेजति आफुलाई बचाउन प्रयास गरें । अँ आजको लागि एति नै होला, यो भन्दा बढि समस्या झेल्न पर्दैन होला बाटोमा अब भन्ने सोचेर फेरि बिस्तारै अगाडि गुड्दै थिएँ ।

रातो युनिकर्नको पछाडि, अति तल कम्मर बाट ढाड सम्म, अनि तिघ्राको सम्पुर्ण भाग देखाउन मिल्ने ठाउँ सम्म देखाएर लुगा लगाएकि युबति थिई । मैले तेति याद गर्दै गर्दा रातो युनिकर्न देखिन छोडि सकेको थियो । बाटोमा दिनहुँ जसो एस्तै मोटरसाईकल, कार अनि ठुला गाढिहरुले हरेक दिन पछाडिबाट ठक्कर दिउँला जस्तो गरेर ऊछिन्ने हुनाले मलाई यो सामान्य लाग्न थालि सकेको थियो । यद्मपि मनमा डर त लागि हालेको हुन्छ । आखिर बाँच्न सबैलाई मन लाग्छ ।

हामि प्लस टु पढ्दा दुई जना केटाहरुले मात्र मोटरसाईकल लेराउँथे । एउटाले भर्खरै बजारमा आएको नयाँ रातो युनिकर्न चढेर आउँथ्यो । अनि बाहिर बाट हेर्दा निकै भद्र देखिन्थ्यो । अर्को चाँहि अग्लो कद गरेको , कलेजले दिएको हरियो प्यान्टलाई सुरिलो चुज बनाएर लगाउने कलेजको डन । बिस्तारै थाहा पाउँदा ऊ कलेजको मात्रै नभई पुरै उसको ईलाकाको डन रहेछ । उसले चाँहि थोत्रो जस्तो देखिने , पछाडिको पाँग्रा बढिनै मोटो भएको CBZ मोटरसाईकल लिएर आउँथ्यो । मोडिफाईड गरेको बाईक हो तेसको भन्थे, के के भन्थे मैले चाँहि बुझेको प्याडल मार्नु नपर्ने आफैं चल्ने अनि मट्टितेल होईन पेट्रोल हाल्नु पर्ने भन्ने अडकल लगाएको थिएँ । अनि मनमनै तेस्तै मोटरसाईकल चलाउन सक्ने हो भने त कलेज आऊनलाई चार बजे नै ऊठ्नु पर्दैन थियो होला भन्ने लाग्दथ्यो ।

रातो युनिकर्न चढ्ने भद्र देखिने हुनाले कहि समय पछिनै एउटि डल्लि अनि मोटि केटिलाई पछाडि राखेर हिँड्न थालेको देखियो । अनि CBZ चढ्ने डनको चाँहि पछि सम्म पनि कोहि केटि मोटरसाईकलको पछाडि बसेको देखिएन । हुन पनि कसरि होस हरेक एक शब्द को पछाडि छुद्र शब्द पनि झुन्ड्याएकै हुन्थ्यो । कहिले काँहि त सुन्नै मात्र पनि दिक्क लाग्ने । मलाई अहिले पनि याद छ, जे भएपनि त्यो CBZ चढ्ने डन केटा बास्केटबल चाँहि असाध्यै राम्रो खेल्दथ्यो ।

पछि केटाहरु कुरा गरेको सुनेको रातो युनिकर्न चढ्ने ले त केटि भगायो रे । अहो ! तेसको लगत्तै एक महिना पछि फेरि सुनियो तेसले त त्यो केटि छोडिदियो रे । तेसपछि बर्षै भरि त्यो केटाले हरेक नयाँ नयाँ केटिहरु भ्याउन थाल्यो रे भन्ने मात्रै सुनियो । आखिर समय थियो तेस्तै, मोटरसाईकल तेसमा पनि नयाँ रातो युनुकर्न अनि के लाईन नलागावोस केटिहरुलाई ।

करिब एघार, बाह्र बर्षबाटै शुरु हुने हरेक केटाहरुको यौबन अबस्था अनि त्यसको भोक मलाई चाँहि थिएन भनेर ढाँट्नु अनि असल देखिनु कुनै काम छैन । प्लस टु पढ्दा म पन्ध्र बर्षको मात्रै थिएँ । यौबनको भोक चढेको नि धेरै बर्ष भईसेको । केटिहरुको शरिरले लोभ्याउन थालेको तेतिबेलै बाट हो भन्दा फरक पर्दैन । मोटरसाईकल नभएपनि, आकर्षक शरिर नभएपनि, अनि एउटा केटि सँग कसरि गफ शुरुवात गर्ने सम्मको ज्ञान नभएपनि, केटिलाई हेर्दै मनमनै आफ्नो गर्लफेन्ड भएको कल्पना गरेकै हो । रातो युनिकर्न चढ्नेको जस्तो लाईन लगाउँदै नयाँ नयाँ बनाउने चाहाना नभएपनि , कलेजको क्यान्टिनमा खाजा खान जाँदा पनि एक्लै भएको दिन चाँहि कोहि केटि साथि भए हरेक दिन कलेजमा एक्लै हुनु पर्दैन थियो भन्ने लागेको थियो ।

टिक-टिक टिक-टिक आवाज आएपछि चाँहि असाध्यै मन रुन्थ्यो किनकि मलाई बिहान ऊठ्न भनेपछि पटक्कै मन नलाग्ने त्यसमा पनि जाडो महिनाको बिहान चार बजे ऊठ्नु पर्दा कसको मन नरोला । कहिले काँहि त्यो कुखुराको आकारको फ्रेम भएको घडिले समयमा घन्टि नबज्दिदाँ चाँहि आज कलेज जान भ्याइदैन भनेर सुतिदिन्थे । अहिलेको जस्तो सजिलो थिएन अलार्म राख्ने काम । अहिले प्लटु पढ्नेहरुलाई यो त अचम्मै हुन्छ होला । तेसबेला मोबाईल थिएन, फेशबुक थिएन । अहिले मलाई लाग्छ यदि म सँग तेसबेला मोबाईल फोन हुँदो हो त आफुले चाँहिएको समयमा अलार्म राख्न पाउँथे । कि झुक्किएर मध्यरातमा ऊठेर घरनजिकैको चौरमा बस कुर्न जानु पर्दैन थियो ।

फेशबुक नभएपनि, अलार्म राख्ने मोबाईल नभएपनि म प्रबिधि संगको परिचयमा चाँहि अगाडिनै थिएँ । त्येतिबेला ६ क्लासमा पढ्दा पहिलोपटक कम्पयुटर चलाउँदा, कम्युटर हतपत सबैले प्रयोग गर्ने बस्तु थिएन । मैले चाँहि ठुलोबाको घरमा चलाएको थिएँ । पछि घरमा डायलअप ईन्टरनेट चलाउँदै, फेशबुक नभएर के भयो त, याहुको पब्लिक च्याट रुममा च्याट गर्न बसेकै हो । बढो मुस्किलले पोर्नसाईटको भिडियो नखुले पनि नाङ्गा युबतिहरुको फोटोहरु खुलाएकै हो । केटिहरु सँग घन्टौं फोनमा कुरा गर्न नपाएपनि, पोर्नसाईट खुलाएर टेलिफोनको बिल धुनधान लेराएकै हो । कसरि यत्रो बिल आएको टेलिफोनमा भनेर घरमा सोधिने प्रश्नमा चाँहि , ईमेल चलाएर, गुगलमा चाहिनेकुरा हरु खोजेर, पढेर भनिदिने अनि आनन्दै । यो संझिदा चाँहि अहिले मज्जा लाग्छ । अहिलेको जस्तो त्यसबेलाको तुलनामा यति द्रुतगतिको अनलिमिटेड ईन्टरनेट तेतिबेला हुँदो हो त के हुन्थ्यो होला । दिनभर पोर्नसाईट हेरिन्थ्यो होला हा हा हा ।

प्लसटुको अन्त्य अन्त्य तिर मेरो मोबाईल भन्ने प्राईभेट कम्पनिको शुरुवात भएपछि चाँहि एक दुई जना केटाहरुले मेरो मोबाईलको सिम हालेर अति सामान्य मोबाईल फोन बोकेर आउन थालेका थिए । त्येसबेमा मेरो मोबाईलले प्रति मिनेट एक पैसामा फोन गर्न दिन्थ्यो त्यसो हुँदा ति दुई केटाहरु जुनैबेला फोनमा कुरा गरिरहेका हुन्थे । तेतिखेर नेपाल टेलिकमको सिमकार्ड चाँहि ३५०० पर्थ्यो , ईनकमिम कलमा पनि प्रतिमनेट चार रुपैया लाग्थ्यो अनि फोन गर्नलाई प्रतिमिनेट आठ रुपैयाँ भन्दा बढी लाग्थ्यो र अति सामान्य नोकियाको ब्याकेन ह्वाईट फोनलाई पन्ध्र हजार जति पर्थ्यो । एस्तो मा मोबाईल फोन बोक्ने कुरा सामान्य कुरा थिएन । आफुले आँखा लगाएको केटिले नि मोबाईल बोक्थि रे भन्ने गाँईगुई सुनेपछि चाँहि मोबाईल फोन चाहिएको थियो ।
जाडोमहिनाको ठन्डिमा पनि झ्यालमा सिसा नभएको भएपनि लास्ट बेन्चमा बस्नै पर्ने अनि अलि फटाहा जस्तो देखिनु पर्ने भुत चढेको थियो कलेज लाईफ भरि । पछि सम्मपनि त्यो भुत कायमै थियो । बसन्तपुरमा दिनहुँ कलेज बङ्क गरेर जाने । अहिले संझिदा चाँहि तेस्तो बेकारमा गरिएछ जस्तो लाग्छ । त्यसको औचित्य नै छैन बेकारको काममा लागिएछ ।

रिकरिङ ड्रिम भन्ने स्टोरि पढाउँदै गर्दा कयौं पटम बेन्चमै निदाउन खोज्ने कुरा मलाई अस्ति भान्जाको किताब हेरेपछि फेरि याद भयो । मलाई स्कुल कलेज जान मन कहिलै लाग्दैन थियो । पहिलै देखि क्रान्रिकारि स्वभाबको म, मलाई टिचरहरुले नोट लेखाएको पटक्कै मन पर्दैन थियो । मलाई ऊनिहरुको त्यो लेखाउने त्यो नोट भन्दा किताब किनेर पढ्न ठिक लाग्थ्यो । तर बाँकि कक्षामा हुने अरु साथिहरुलाई चाँहि नोट लेख्न पाए दंग हुने थिए ।

बिबिस थर्ड यएर, जिबनमा पहिलो पटक केटिलाई फोन गर्दा मुटु बढो जोड जोडले धड्किएर मानौं फुट्नै आँटेको जस्तो भएको मलाई अहिले पनि याद छ । आफुले मनपराएको केटिको, अनेक लामो बाटोबाट पत्ता लगाएको नम्बरमा फोन गर्ने ठुलो हिम्मत जुटाएपछि, अठार घन्टाको चरम लोडसेडिङको मार खेपिरहेको बेला बत्ति नभएर एक्लै बसिरहेको एक साँझ नम्बर डायल गरें । झन्डै फोन नऊठेको, अन्तिम रिङ्ग जस्तोमा फोन ऊठेपछि के बोल्ने के । जोड जोडले मुटु ढ्डकिएको मात्रै याद छ बाँकि एक मिनेट थर्टिनाईन सेकेन्ड के कुरा गरें मैले भन्ने मलाई याद छैन ।


समय सधै एकैनाशको हुँदैन । पहिलो पटक मुटुनै फुट्ला जस्तो डराएर फोन गरे देखि अहिले सम्म मैले कयौं केटिहरुलाई फोन गरें होला ति मध्ये कतिलाई मन पराएँ होला, कतिलाई प्रेम प्रस्ताब पनि राखें होला, कतिलाई बिनाकारण फोन गरें होला, अनि कसैलाई अथाहा माया अनि बिश्वाश गरेर फोन गरें । ति मध्ये कतिले मलाई मन पराए वा पराएनन मलाई थाहा छैन । मलाई अप्रत्यक्ष संकेतहरु पछ्याउन आउँदैन अनि कसैलाई मायाको बाचामा झुलाउन पनि जानेको छैन । मलाई समय भन्दा ठुलो केहि कुरा लाग्दैन, तेसैले समय भन्दा पछि प्राप्त हुने कुरामा कुनै स्वाद हुँदैन भन्ने राम्रो बुझेको छु । आखिर जिबन एक सझौता रहेछ । कसैले भनेको या लेखेको पढको थिए कि लाखौं मा कुनै कुनै मात्र त्यस्ता जोडि हुन्छन् जसले आफ्नो सच्चा जिबन साथि पाउँछन् । शुरुशुरुमा त मैले आफैंलाई तेहि लाखौ मध्यको एक भएको अनुभब पनि गर्थें । र अझै पनि भनौं न लाखौं मध्यको एक नै हो ।

आज अचानक बाटोमा रातो युनिकर्नले ठक्कर देला जस्तो गरेर लेराए पछि मैले प्लस टु देखिको मेरो समयलाई फर्केर संझिने मौका पाएँ । धन्यबाद छ रातो युनिकर्नलाई !

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older