Sunday, July 22, 2018

२०७२ सालको भूँईचालो को संझना

उसको देब्रे हातमा बजारमा पाईने ठुलो खालको सलाईको बट्टा भन्दा सेखै ठुलो गुलाफि रँगको बट्टा थियो । त्यस भित्र गुलाफि रँगकै सेतो रँगको किप्याड भएको फोल्डिङ मोबाई थियो । हँसिलो मुस्कानले म भएतिर हेर्दै गर्दा मैले सोधें "कसले किनिदियो एति राम्रो मोबाईल" । मिठो स्वरमा उसले भन्यो"बाबाले किनिदिनुभएको हिजो" । त्यसपछि मैले मनमा कुरा खेलाए कि उ पनि म अनि हामि जत्तिकै सामानहरुको किफायत गर्दो रहेछ यो
कुराको ठम्याई मैले कसरि गरें भने उसको बाबाले हिजो किनिदिनु भएको मोबाईल अझै पनि उसले कागजको बट्टामा नै राखेको थियो ।

"अँ ठिकै छ, तिमिलाई" ..... "म एहि छु अनि तिमि" ...."काँ हो" .... "ल त ल" ... देब्रेपट्टि कानमा गुलाफि फोल्डिङ मोबाईमा उसले एसो भन्दै गर्दा म माथि बरन्डाबाट ऊसलाई चिह्याई रहेको थिएँ ।

"भूँईचालो भित्र छ हई बाबा आज पनि हामि बाहिरै बस्ने हो?"
यसो भनेको सुनेपछि मलाई फेरि एकपटक बालक हुन मन लागेको थियो । उसको बाबा र मैले बारिलाई सम्याएर त्रिपालको अस्थाई घर बनाउँदै गर्दा उसले सोध्यो - ''बाबाले घर बनाउन थाल्नु भएको हो बाबा" "बाबा घरमा कुन कलर लगाउने" । यि यस्ता कुराहरु उसले सोध्दै गर्दा मैले उसको भलाद्मि, प्रायस मुस्कुराउने अनि शान्त प्रबृतिको उसको बालापन निकै मोहित भएर हेरिरहेको हुन्छु ।

दाजु भाउजु बिदेशमा भएको मौकामा शितल कोठा खोज्दै दाजुको कोठामा भएको होचो खाट(भुँईखाट) मा ढल्न मात्रै थालेको थिएँ एक्कासि सारा का सारा घर मच्चिन थाल्यो । सँधै तिन जाना अनि जेसि हुने हाम्रो परिबारमा आज सानो पारिबारिक भेटघाट थियो त्येसैले बानेश्वरबाट ठुलोबा र आमा आउनु भएको थियो ।

बाक्लो निन्द्राबाट आमाले झटपट बोकेर तल आँगनमा पुर्याएपछि निन्द्रा खुल्दै गर्दा कानमा पर्थ्यो "भुँईचालो आयो" । भुँईचालो कुन रहेछ भनेर देख्नलाई म खुब जिज्ञासु बनेर, आमाको देब्रेपट्टि पिठ्युँमा बोकिएर आँखा माड्दै वरपर हेर्दै गर्दा मैले अँध्यारोमा रङ्गिन बुट्टे आकृतिहरु देख्थें र सोच्थें त्यहि रहेछ भुँईचालो । अहिले पो थाहा भयो निद्रामा आँखा माडेर अँध्यारो तिर हेरियो भने तेस्तै आकृतिहरु देखिने रहेछ ।

सानै देखि भाग्ने गरेकोले भुँईचालो आएपछि भाग्नु पर्छ भन्ने दिमागमा छापिएकै हुँदो रहेछ । जेसिलाई समातेर बोकेर भाग्न खोज्दा ऊ झन बढि अत्तालिएर म भएतिरबाट माथिल्लो तल्ला तिर दौडियो । उसले आफुलाई माथिल्लो तल्लामा सुरक्षित महशुस गर्ने बानि गरेको थियो । फराकिलो चिप्लो टायले भुँईको बाटो हुँदै जेसिको पछि लाग्दै गर्दा पाईला कत्ति पनि सरेन अब त शरिर ढल्नै थाल्यो । त्येसैले टाँग फट्याएर हातलाई दायाँ बायाँ सके जति फैलाएँ एसो गर्दा शरिर लाई ढल्न बाट जोगाउन सकिन्थ्यो । जेसि त कुद्दै माथि गएको देखिहालेको थिएँ — आमा, बाबा, दाजु, भाउजु सबैको स्थान सँझिदै गर्दा आमा भर्खर लुगा सिलाउन दिन खुला चौरतिर जानु भएको सँझिए । दाजु भाउजु सात समुन्द्रा पारि झनै निश्चिन्त । माथिल्लो तल्लामा हुनुभएको बाबा लाई सँझिदै त्यसपछि पिलारहरु भाँचिएर आफुहरुलाई घरको अस्भार ढलानले थिच्ने कुरामा निश्चिन्त हुँदै गर्दा एकजनाको फेरि याद आयो । यो यादले खुबै बल दियो । अबत आफुलाई जसरि भएपनि घरबाहिर निस्कनु नै थियो । दाँयाबाँया फैलाएको हातलाई हटाएर ठुलो बल लगाएर माथिल्लो तलातिर बाबा र जेसि लिन गएँ ।

बारिको पाटामा सबै जनाको जमघट हुँदै गरेर आफुलाइ सुरक्षित महशुस गर्दै गर्दा बिदेश तिर खबर लेखिदिए "हामि सुरक्षित छौं" ।

"नो मोर धरहरा भन्छ नि त" दाजुले एसो लेखेको पढ्दै गर्दा त पुरै जिउ सिरिङ्ग भयो । मनमा एस्तो आयो कि "धरहरा चढ्न नपाई लड्यो" कुर्दा कुर्दै रहर तेसै भयो । फेरि मनलाई सान्त्वना दिएँ "आ धरहरा मात्र हो र मैलै धेरै कुराहरु गर्न पाएको छैन नि समय त बिति सक्यो फर्किएर आउँदैन" ।

नाङ्गै खुट्टाले चैतको घामले सुकेको बारिको डल्लामा जेसि बोकेर ऊभिएको धेरै बेरपछि सहनै नसकेर एकपटक चप्पल त लगाएर आउँछु भनेर आँट गरेर घरभएतिर जाँदै गर्दा, आज घरको अग्लाई पटक्कै मन परेन । मुलढोका अगाडि लडिरहेको निलो रँगको मोटरसाईकल लाई तैसै छोडेर छिटो छिटो चप्पल लगाएर फेरो बारिको पाटामा पुगें ।

एकैछिनको लागि म सबैलाई बारिको पाटामा छोडेर मोटरसाईकल लिएर हिँडे । यस अंशलाई पछि पुर्णता दिनेछु । :)

बाटोमा जाँदै गर्दा काँचो ईट्टा पोल्न ऊभ्याईएका भट्टहरु ढलेको देखें । यो दृश्य भयानक थियो । घरपछाडि छिमेकिहरुको घर पनि भत्तकिएको थियो ।

हजुर आमा ११ बर्षको हुनुहुन्थ्यो रे ९० सालको भुँईचालो जाँदा । मैले हाम्रो हजुरआमालाई सँझिएँ । सबैजाना हजुरआमा,बाबा,ठुलोबा छिमेकिहरुको बिचमा, रातोमाटोले चटक्क लिपिएको पिँढिमा डिलमा बसेर चिया पिउँदै गर्दा सबैजाना कुरा गर्ने गर्नुहुन्थ्यो ९०सालको, ४५सालको भुँईचालो । आफुलाई कत्तिपनि थाहा नभएको कस्तो हो भुईचालो भनेको । तरपनि सबै जाना ले भन्नु हुन्थ्यो "काठमाडौं मा ठुलो भुईचालो आउँछरे, केहि बाँकि रहँदैनरे, सखापै हुन्छनि" यसो भनेर गफ गरेको सुन्दा मन थरथरि काँप्थ्यो , काठमाडौं छोडेर अन्तै जाँउ भन्न मन लाग्थ्यो । कतिपटक त यस्ता ९० साल ४५ सालको भुँईचालोको कुरा गर्न सुरु गर्नु भएपछि डरले चियाको गिलाँस बोकेर घर पछाडिको करेसातिर जान्थें, यसो गर्दा उँहाहरुको गफ सुनिदैन थियो ।

यस्तै थियो होला ९० सालको भूईचालो भनेको मनमनै कुरा खेलाएँ । अरु सबै सँग कुराकानि गर्न कत्तिपनि मन थिएन किनकि मलाई केहि अझै ढुक्क भईसकेको थिएन ।

निलो रँगको मोटरसाईकललाई रोकेर झर्दै गरेका ठुला कदका, काला र सेता मिश्रित दारि, पानले दाँतको बिचमा पँहेलो बसेको, हँसिलो दाईले भन्नु भयो "हामि ठमेलबाट आएका सारा ध्वस्त छ" ।

यसो भनि सक्दा मैले सोचें अब स्थिति भयानक भयो । भोलि देखि झन स्थिति खराब हुँदै जानेछ । सामान्य हावाहुरि चल्दा दुईदिन बत्ति नआउने मेरो गाँउमा अब कतिदिन होला बत्ति नआउने । खानेपानिको सरकारि धारा बत्ति नभए नआउने ।

बाह्र बजेदेखि बारिको पाटामा ऊभिएको ३ बजि सक्दा पनि जमिन हल्लिन छोडेको छैन । एक पछि अर्को क्रमश धक्काहरु आईरहे । यतिबेला मेरो मन हलुका भईसकेको थियो किनकि म मोटरसाईकल लिएर घुमेर आईसकेको थिए । अब पिर केहि बाँकि रहेन, खालि कम्पन रोकिईदिए हुने ।



भुकम्प , महाभुकम्प चाहे जे सुकै आवोस न यो पेटमा चल्ने भुकम्प चाँहि त्यो भन्दा महान छ क्या ! ज्यानको बाजि राखेको जस्तै मनमा लिँदै , बा छोरा मिलेर ग्याँस चुलो अनि खाने सामाग्रि बोकेर हतार हतार घरको भुईतलामा आईयो ।

हँसिलो अनुहारको मानिस, छिमेकि दाईको परिबार र भाडावाल क्याम्पसे केटाहरु सहित करिब १५ जना जति घर अगाडिको बरन्डामा सुत्ने निधो भयो । त्यो रात कयौं पटक बरन्डा बाट भाग्दै बारिको पाटामा गयौं । यो भागदौडको क्रम रातै भरि चलिरह्यो । मध्यरातमा बारिको पाटामा आगो बालेर बस्यौ । ति हँसिला दाईले कम्ति हौसला दिएनन् यो भागदौडमा । साना धक्काहरुमा मजाक गर्दै भन्थे "के भाग्ने हो त भाई?" । मेरो उत्तर पनि कम्ति थिएन "आsss नभागौं" ।

आज भोलि हुँदै भँईचालो कम हुँदै गयो । तर भौतिक बस्तुमा लिप्त जिबन शैलिलाई आ-आफ्नै किसिम अनि तहको बिपद पर्ने रहेछ । खँड्कुलो , बाटा, राईसकुकर के के हुन्छ त्यसमा पानि तताएर मात्रै नुहाउने गरेको, अनि पछिल्लो केहि बर्ष घरै भरिका धारामा तातोपानि आउने भएका थिए ।

भुईचालोले तातो चिसो सबै पानि नआउने , टिभि , बत्ति, लुगाधुने लगायतका भौतिक दैनिन्दिमा पनि नराम्रो सँग धक्का दियो । अब यि सबथोक ले काम गर्न छोडेको ले मैले भुँईचालो पछिको पाचौं दिनमा दाँत माझें, नुहाएँ ।

मेरो मोबाईल फोन एक किसिमको घरको फोनको बिकल्प जस्तै हो । सबैले मलाई फोन गर्ने कारण एस्तो थियो बाबा ले मोबाईल कहिलै साथमा नराख्ने अनि आमु को नम्बर धेरैलाई थाहानै नहुने । देशि बिदेशि फोन कलहरु ले कयौं पटक झन्झट लगायो । त्यस मध्येका कुनै फोन कल अति प्रिय हुन्थे जुन आउँदै आउदैनथे । या गर्ने मान्छे बना'कै छैन :P :)

कयौं दिनदेखि लगाएको मैला लुगाहरु लगाएर भत्किएको संरचना हेर्न शहरतिर हिँडेको म , भक्तपुर, धरहरा, बसन्तपुर तिर हिँड्दै गर्दा अचानक मेरो आँखा पाँच ईन्चको हिल र लपक्क रातो लिपिष्टिकले सजिएको युवति तिर गयो । आफ्नो त शरिर भुँईचालो गएको दिन देखी आजसम्म काँपेको जस्तो, हल्लिएको जस्तो अनि रँगटा लागेको जस्तो भईराखेको बेलामा , शहरका यत्रतत्र भत्किएका सँरचनाहरुको माझमा करिब पाँच ईन्चको हिल लगाएर पैदल हिड्ने युबतिलाइ देख्दा आश्चर्यचकित भए । अनि मेरो शरिर तिर आफैंलाई हेरें , कयौदिन देखिको मैला लुगा, हात्तिछाप चप्पल, पुरानो हेल्मेट हल्लाउँदै लन्ठङ लन्ठङ हिडिरहेको म अनि ति युबतिलाई तुलना गरें । यि तुलनालाई तेतै न्युरोडमै छोडिदिएँ ।

"धरहरा यता पर्छ" न्युरोडको समोसा पसल जाने बाटोबाट पर दक्षिण पट्टि चोरिऔंलाले देखाउँदै उसले आफ्नो प्रियसिलाई भन्दै गरेको मेरो कानमा झट्ट पुग्यो । करिब १५ १६ बर्षिय ति मायालु बनिरहेका जोडिलाई मैले आँखाले भ्याएसम्म परसम्म अर्थपुर्ण हेराई हेरें ।

अरनिको हाईवेको राधे राधे र सृजनानगर खन्ड अतिनै मन पर्छ । मन्द गतिमा मोटरसाईकलमा सोहिबाटो हुँदै घर फर्किएँ ।

फेशबुकलाई हेर्न र ईन्टरनेट सर्फिङ गर्न नपाएको ५ दिन भएको थियो तेसपछि झट्ट फेशबुको होमपेजमा फालिएको नयाँ "are you safe?" Logic देखेर मन खुखि भयो, कसैले कँहि कतै परबाट केहि कामहरु लगाब लगाएर गरिरहेका छन जसको मज्जा हामिले लिन पाएका छौं ।

त्यसपछि पनि भुँईचालो हरु नआएका होईनन् अब त बानि नै परि सक्यो ।

ऊसले बाबालाई फेरि तेस्तै अर्को मोबाईल मोबाईल किन्न लगाएछ । खुब रोईकराई गरेर उसले अर्कोपनि त्येस्तै गुलाफि रँगको मोबाईल किन्न लगाएछ । आज उसले दुबै हातमा कागजको बट्टाभित्र मोबाईललाई बोकेर सधाझैं उसको मुस्कान सहित माथितिर हेर्दै गर्दा म कौशिबाट ऊसलाई हेर्दै थिएँ ।

म चकित भएर किन दुईओटा मोबाईल हो उसको हातमा भनेर मनमा खेलाउँदै गर्दा ऊसको आमाले भनेको सुनें कि अर्को मोबाईल प्रास्नाको लागि किनाएको रे ।

प्रास्ना भर्खरैको भुँईचालोले घर भत्किएकोले अलिपर घरमा बस्न थालेकि थिई जसले गर्दा अब उसले फेरि प्रास्नालाई कौशिबाट बोलाउन पाएको छैन तेसैले होला ऊसले खुब जिद्दि गरेर बाबालाई अर्को मोबाईल किनाएको ।

त्यसपछि उसले कयौं पटक आफ्नो आमालाई जिद्दि गरेर प्रास्नालाइ भेट्न प्राश्नाको घरमा लगेको रहेछ । त्यसदिनदेखि ऊसले आफुलाई निकै एक्लो महशुस गर्नेगरेको छ रे भन्ने मैले ऊसको आमाले भन्दै गरेको सुनें ।

ऊनिहरु खेल्दै गर्दा आमाले सागहरु टिप्ने काम सकाएपछि घर फर्किनु पर्ने भयो । उता प्राश्नाको घरबाट आएर उसलाई लिएर गए । त्यसपछि उसले प्राश्नालाई हेर्दै जोड जोडले रुन थाल्यो । आफ्नो आमालाई पनि छोडेर प्राश्ना भएतिर लम्कियो, खेतको बिचमा पुगेर जोड जोडले रुन थाल्यो । खेतको

बिचमा उभिएर रुँदै गर्दा ऊसको दुबै हातमा मोबाईल फोन थियो शायद प्राश्नाले गिफ्ट स्विकार गरिन होला । "नजाउ, नजाउ" उ जोड जोड ले चिच्याउँदै अनि रुँदै थियो । प्राश्नाले तेति परसम्म पुग्दा पनि एकपटक पनि फर्केर हेरिन । उसले आँखाले देख्ने सम्म प्राश्नालाई बोलायो त्यसपछि दुबै हातमा मोबाईल बोकेर रुँदै फर्कियो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older