Wednesday, August 8, 2018

तिमीलाई संझना


आफ्नो शरिर हेरेर छक्क परिरहेको छु । सानो देखिने शरिरको आकार, लुरे देखिने दुब्लो पातलो जिउ । हेर्दैपनि  सफा नदेखिने कालो छाला युक्त शरिर । मैले तिमिलाई चाहानु खासै सुहाउने पनि देखिन छोड्यो । ठिकै छ समयले पनि नेटो काटि सकेको छ । आशाहरु मरिसकेका छन् ।

मैले आफुलाई माया गर्ने भनेको आफ्नो मनलाई मात्रै हो । यो जन्ममा मन चाँहि निकै राम्रो पाएछु । ब्यक्त गर्न चाँहि जानिएन, बोलि तेसैमा पनि रुखो सुनिने रहेछ । मन र बोलिको तालमेल मिलाउन कहिलै जानिन । म हाम्रो बाबा जस्तै भएछु । प्यारो बाबा जस्तै ।

बिदेश गएपछि मैले खासै तिम्रो तस्बिरहरु हरु हेरेको पनि थिईन । चित्त दुखेपछि तेस्तो हुने रहेछ । बिदेश हिडिसकेको करिब हप्तादिन पछि जस्तो,  पहिलो पटक  बिदेश गईसक्यौ रे  भन्ने सुनेपछि तिम्रो मामुको फेशबुक बाट तिम्रो तस्बिर हेर्न खोजेको उँहाले पहिलै मलाई अनफ्रेन्ड गरिदिईसक्नु भइको रहेछ । आबेगमा तिमिलाई त मैले नै ब्लक गरेको थिएँ । रेष्टोरेन्टको टेबलमा एउटा केटा सँग खिचिएको सेल्फि देखेपछि असह्य पिडा भएर तिमिलाई त्यसदिन देखि मेटाएको थिए । फेशबुकबाट मेटाएपनि मन बाट त एक सेकेन्ड नि मेटाउएको थिईन अनि छैन नि । प्रत्यक्ष रुपमा तस्बिर नहेरेपनि कहिले काँहि आकल झुकल देखिन थालेको थियो । तेसले पनि पिडा भएपछि फेशबुकनै कम चलाउन थालें ।

पहिलो पटक फुल पाईन्ट लगाएर समुन्द्रको तट अगाडि ऊभिएको  तिम्रो फोटो देखें । त्यो तस्बिर भर्खर भर्खर बिदेश पुगेको भन्ने ठ्याक्कै थाहा पाईने किसिमको थियो । बिदेशतिरको चालढालको धेरै तस्बिरहरु देखिई रहने भएर होला ।  काठमाडौं शहरतिर हाल्फ पाईन्टमा हिड्ने तिमिले समुन्द्रि तटतिर पुग्दा चाँहि हाल्फ प्यान्ट लगाएको भए हुने नि जस्तो लागेको थियो । जतिसुकै सबै स्त्रिलाई नाङ्गै हेर्न रुचि भएपनि आफुले मन पराएको र आफुले चाहाना गरेको केटिले चाँहि शरिर पुरा ढाक्ने लुगा लगाइदिए हुने भन्ने चाहाना हुने रहेछ । थाहा छैन भेटघाट, घुमफिर, तथा बिबाह पश्चात कस्तो लुगा लगाएको मन पर्ने हो । अहिले सम्मको ईच्छा चाँहि पुर्ण शरिर ढाक्ने लुगाले सजिएको हेर्ने मन हुने रहेछ ।

“म अरु जस्तो तिघ्रा देखाएर हिड्ने केटि हो र”
 भनेर तिमिले केहि बर्ष अगाडि भनेको थियौ । अहिले त्यो लागु हुन छोडिसकेछ । तिम्रो ईच्छा र छनौटमा मेरो भन्नु केहि छैन । मैले जहिले पनि र जस्तोसुकै पनि स्विकार गर्दै आएको छु ।

मैले त्यस समुन्द्रि तट अगाडिको 
तस्बिर र अर्को सेतो टिसर्टमा पछाडि ब्याग भिरेको तस्बिर बाहेक अरु कुनै तिम्रो तस्बिर देखेको थिईन ।

आज तिमि बिदेश गएको एक बर्ष पुरा भयो । तिमिमा धेरै परिबर्तनहरु आईसकेको रहेछ भन्ने मैले तस्बिरबाटै आंकलन गर्न सक्दछु ।

तिम्रो तस्बिर देखें । 

मोटाएछौ । निकैनै । अतिनै ।

यता हुँदा मैले एक पटक तिम्रो Weight सोधेको थिएँ । सोध्नुको कारण थियो तिमिले ढिला या चाँढो मलाई स्विकार गर्ने छौ होला । हाम्रो भेट हुने छ । मैले तिमिलाई बोक्छु भन्ने लागेको थियो ।

न बोक्न पाएँ न त बोक्न पाउने नै छु अब ।

मनमा निकै डरलाग्दो फिलिङ्ग आईरहेको छ । तिमिले अरुलाई रोजिसक्यौ । अब मैले तिमिलाई सधैंको लागि गुमाउँदै छु । यस्तो नराम्रो मनमा आईरहेको छ । सपनाहरु पनि नराम्रो देखेको छु ।

केटाले केटिलाई ईमप्रेस गर्नु पर्छ । यो अति सामान्य नियम हो । मैले अब कसरि तिमिलाई ईमप्रेस गर्न सक्छु र । शारिरिक हिसाबले पनि म तिमि भन्दा सानो देखिन्छु, बसोबास, रहनसहन र जिबनशैलि मैले कल्पना गर्नै नसक्ने भिन्न परिस्थितिमा छौ । खाने कुरामा  मोमो र चाउमिन बाहेक रेष्टुरेन्टमा अर्डर गरेर  खुवाउन मैले केहि जानेको छैन । त्यसमा पनि चाउमिन तिमिलाई मन पर्दैन भनेको याद गरिरहेको छु । तिमिले लगाउने लुगाहरुको नाम थाहा छैन । मैले तिमिलाई आफुले किनिदिन जान्ने भनेको तेहि टिसर्ट र पाईन्ट मात्रै हो ।  मैले आफुले धेरथोर केहि कमाएको पनि छैन ।  आज म सँग अब केहि छैन । तिमि आफैं कमाउन थालि सक्यौ होला । बिदेशि बिश्वबिद्मालयमा पढ्ने । बिदेशि रहनसहन र जिबनशैलि । तिमि पक्कै निकैनै परिपक्व भईसक्यौ होला । जान अनजानमा तिमिले आफ्नो जिबन शुरुवात गरि सक्यौ ।

हिजो तिमि सानि थियौ । मैले पोष्ट ग्र्याजुएट पढ्दै थिए । तिमि भन्दा धेरै अनुभब थियो । तिमिले बोल्ने शैलिले मलाई मन्त्रमुग्ध पारेको थियौ । तिम्रो अग्लो कद र मिलेको शरिरको फैलावट देखेर मोहित भइको थिएँ ।  मैले तिमिलाई आफ्नो बनाउन चाहना गरिहालेछु । मैले तिमिलाई एकदमै आफ्नो महशुस गरेछु । कति सजिलै तिमिलाई आफ्नो बनाउन पाउँछु होला भन्ने सोचेछु ।  

तिमि सानि थियौ । कति मजाले मलाई बोलाउँथ्यौ । मैले जानि जानि म्यासेजको रिप्लाई नगर्ने गरेकोमा कति कर गरेर रिप्लाई गर भन्थ्यौं । म रिसाएको जस्तो गर्दा  मलाई फकाउनलाई “१०० पटक ऊठबस गरौं” भन्थ्यौ ।  आफैंले पहिलो भएर कतिपटक म्यासेज गर्थ्यौं । म सँग फोनमा कुरा गर्नको लागि दिदिलाई घरमा सुत्न बोलाउँथ्यौ ।

ऊकालोमा तिमि आफैं भन्थ्यौ--
“मेरो हात समाएर ऊकालिदिन पर्दैन मलाई” ।

तेतिबेला म पुरुष यौन चाहानको उत्कर्ष तिर रहेछू । हत्केला समाएर तिमिलाई तान्दापनि यौन चाहानाले पुर्ण शरिर कामुक भएको हुन्थ्यो । तेसैले त्यसरि तान्नु नपरे हुने भन्ने चाहाना भईरहेको हुने गर्दथ्यो ।  तैपनि मैले तिमिलाई आफ्नो बनाउने र माया भन्दा बढि अपेक्षा गरेर कहिलै सोचेको थिईन । किनकि मैले तिमिलाई ह्रदयदेखि माया र सम्मान गरेको रहेछु । आजसम्म पनि कुनैदिन मैले तिमिलाई पुरुष नजरले हेरेको छैन ।

पहिलो नजरमा नै स्त्रिहरुको छातिमा ठोकिने पुरुष नजर को नियम तिमिमा कहिलै लागु भएन । मैले कहिलै तिम्रो छाति हेरेनछु  । तिम्रो कम्मर, तिम्रो हिपलाई कहिलै नजर लगाएनछु । मैले त तिम्रो आँखामा हेर्न चाहान थियो । नजिक बाट तेति देख्ने अबसरहरु नपाएपछि, भएका केहि तस्बिरहरुमा धेरैबेर सम्म तिम्रो आँखा र अनुहार हर्देथें ।

पहिलो दिनमै मैले त तिम्रो गोडा हेरेछु । ति सेता गोडाहरुको चमकलाई नियालेछु । सामान्य भन्दा लामो देखिने तिम्रो गोडाहरुमा हमेसा पहिरिने बोट सुजलाई हेरेछू ।  फेरिपनि मैले तिम्रो गोडा देखें । बिदेशि भुमिमा नाङ्गो पैताला ऊभिएको थियौ । जन्मदिन भएकोले कतै मन्दिर पुगेको हो कि भन्ने अनुमान गरें ।  

मेरो चोईस त स्पोर्ट सुज लगाएको हेर्ने थियो नि तैपनि मैले बोट सुजनै मन पराउन थालेछू । असनको पसल पसलमा बिभिन्न रङ्गको बोट सुज तिर आँखा पुर्याउन  थालेछु । पसलतिर झुन्डिएका स्त्रि पहिरन तिर आँखा गाढ्न थालेछु । यो मनको बह लेख्दै गर्दा  पहिलो पटक  फेशबुकको फोटो पोस्टमा मैले तिमिलाई स्पोर्ट सुजमा पनि देखें तर पुरा सुज देखिएको थिएन । तैपनि खुब राम्रो लागेको थियो । धेरैबेर हेरिरहें ।

TRYST को टेबलमा पछि सम्म पनि एक्लै गएर बस्न थालें ताकि हामिले भेटेको दिनको संझाना ताजा होस । अहिले पैसा नभएपछि त्यहाँ जान सकेको छैन । भैगयो अब नजाउँ । सडकमा हमेशा राख्नुपर्ने नजर, ज्यानको बाजि लगाउँदै प्रत्येक पटक तिम्रो घर र तिम्रो घरको कौशिमा सुकाएका लुगाहरुमा गाढिन पुग्दथे ताकि तिम्रो पहिरन देखेर तिमिलाई देखेको महशुस गर्न सकुँ । एकपटक मैले तिमिलाई तिमी कौशिमा आएर मलाई “हाई” गर म बाटोबाट हेर्छु पनि भनेको थिएँ तर तिमिले मानेनौ ।

पुषको ठन्डिमा बिहान बिहान सबेरै तिमिलाई देख्न, लुकेर हेर्नको लागि  बस स्ट्यान्डमा पुग्न थालेछु । तिमि कलेजबाट फर्कने समय पारेर घरबाट शहरतिर जान थालेछु ताकि, चोकतिर वा पुलतिर देखियोस् । चियो चर्चा गरेको जस्तो होला भनेर पछि तिमिलाई तेसरि लुकेर हेर्न आउन पनि छोडें ।

ब्यापार गर्दै दिन कटाउने तिम्रो हजुरबालाई हेरें, ब्यापार गर्दै बसेका तिम्रो बुवालाई हेरें, भजन र सत्तसंगत जाँदै गरेको तिम्रो हजुरआमालाई हेरें, तरकारि किन्दै गरेको तिम्रो ममिलाई हेरें, स्कुल जाँदै गरेको भाईसँग बोलें ताकि सबैमा तिम्रो अनुहारको केहि भएपनि झझल्को दिने स-साना अंश देखिन्थ्यो । तिमिलाई देख्ने चाहाना पुरा गर्न को लागि सबैलाई पटक पटक हेरें , देखें, चाहेर हेरें ।
मेरो लागि खानेकुरा तथा जेरि थपिदिन आउँदै गरेको तिम्रो भाईलाई देख्दा पनि माया गर्न भ्याएछु । उसले पनि जानेजति गरेर मलाई तिरस्कार गरिसक्यो ।

तिम्रो साथिहरु सँग तिमि घुम्न गएको फोटोहरु देखेर मलाई पनि सँगै लगेको भए हुने भनेर कल्पिन्थें । एक्लै मुभि हेर्न सिनेमा घर जाँदा जाँदा थकित मैले कहिले काहिँ तिम्रो साथ पाए हुने जस्तो लागेको थियो ।

मलाई तिम्रो धेरै चिज थियो किनकि म त एक्लो थिएँ । साथिहरु कहिलै भएन । सँधै एक्लै हिँड्ने, एक्लै खाने गर्नुपर्थ्यो । 

“एउटा मात्र टिकट” भनेर सिनेमाघरको टिकट बेच्ने मान्छेले दोहोह्राएर सोध्ने प्रश्नले कति हुम्युलेट फिल गराउँथ्यो । 

“दुईओटा दिनुहोस “भन्ने ठुलो रहर थियो ।
मोटरसाईकलमा परपर सम्म घुम्न जाने रहर थियो । अनगिन्ति फोटोहरु खिच्ने चाहाना थियो । सँगै खाने रहर थियो । तिमिलाई आफ्नै हातले खुवाउने रहर थियो । तिम्रो हातले खुवाएको खाने रहर थियो । ठुलो पिज्जालाई सँगै बसेर खान मन थियो । तिमि हाँसेको हेर्न मन थियो । तिमि रमाएको हेर्न मन थियो । तिम्रो चन्चलता हेर्न मनथियो । तिमि लजाएको हेर्न मन थियो । तिमि रिसाएको हेर्न मन थियो । तिमिले मलाई माया गरेको हेर्न मन छ ।

तिमिलाई अंकमाल गर्ने मन थियो । अँगालोमा भएको तिमिलाई सदाको लागि छोड्दै नछोड्ने मन थियो । पहिलो चुम्बन गर्न मन थियो । सँधैको लागि तिमि सँगै बस्न मन थियो र तिमिलाई सँगै राख्न मन थियो । थकित हुन्जेल तिमिलाई बोकेर हिड्न मन थियो । आफुलाई कमजोर महशुस गरेको बेलामा तिम्रो अँगालोमा परेर रुन मन थियो  र तिमिलाई आफ्नो अँगालोमा सँधैको लागि राखिराख्न मन थियो ।   

तिम्रो आईब्रो थ्रेडिङ्ग गरिदिन मन थियो, कपाल आईरन गरिदिन मन थियो । तिम्रो अनगिन्ति पोटरेटहरु खिच्न मन थियो ।  चरम लोडसेङ हुने देशमा हुर्किएका हामि, -- तिमिले कसौंडिको पिँध तताएर भएपनि सर्टमा आईरन गरेर मात्रै स्कुल जाने गर्दथ्यौ भन्ने सुनेको थिएँ । मलाई तिम्रो कपडा ठिक तरिकाले मिलाएर राखिदिन मन थियो । 

सँगै लुगा किन्न जान मन थियो, तिमिले प्रतेक पटक चेन्जिङग रुमबाट बाहिर निस्किएर सोध्दा भएन भनिदिएर नयाँ नयाँ लुगा लगाएको हेर्न मन थियो । मलाई पनि कसैले यो लगाउँदा राम्रो सुहायो भनेर भनिदिने तिम्रो साथ पाउन मन थियो । 

बर्षादमा एउटै छाता ओढेर हिँड्न मन थियो । तिमिलाई बाईकमा घुम्न लगेर  पानिले पुरै भिजाईदिन मन थियो । जाडोले काँपेको तिमिलाई आफ्नो ज्याकेटले न्यानो बनाउन मन थियो ।  साँझमा सुरक्षित रुपमा घर नजिकैको गल्लिमा  छोडेर फर्कन मन थियो ।

आज बिहान अचानक तिमिलाई “मोटि” भनेर सम्बोधन गरेछु । मैले एक्लै मनमनै तिमिलाई अनेकन नामले  बोलाउने गर्थें । आज “मोटि” भनेर बोलाएछु । मोटाएपनि, दुब्लाएपनि आखिर मैले पहिलो पटक भेटेको तिमिलाई सँधै कुरिरहेको छू ।

कलेज पढ्ने भएपछि मलाई बोईफ्रेन्ड बनाउछौ भन्ने आशा थियो । । ‍+2 सकेपछि मलाई बोईफ्रेन्ड बनाउँछौ भन्ने लागेको थियो झन बोलचालै हुन पो छोडेछ । अहिले त कति पर छौ । तिम्रो बाटोनै अर्कै भईसक्यो ।

एकदम मन परेर किनेर लेराएको केहि जोर नयाँ जिन्स प्यान्टहरु नलगाई बर्षौं सम्म साँचेर राखेको थिए ताकि तिमिलाई भेट्न आउँदा लगाउनु पर्छ । तिमिलाई भेट्न आउँदा खुब ह्यान्डसम भएर आउनुपर्छ भन्ने सोच थियो ।  कत्ति मन परेर किनेको केहि जोर टिसर्ट नलगाई तेसै आउट अफ फ्यासन पो भएछन् । न त नयाँ लुगा किनेको र रहर भएको समयमा लगाउन पाएँ न तिमिलाई भेट्न पाएँ ।  


ब्युटि प्याजेन्टमा तिम्रो सहभागिता पट्क्कै मन परेको त थिएन । तैपनि तिम्रो निर्णयलाई आत्मसाथ गरें ।  ब्युटि प्याजेन्टमा भाग लिएको तिमिलाई हेर्न मन थियो, नपाएपछि टेलिभिजनको लाईभ टेलिकास्टमा चित्त बुझाएँ । त्यो प्याजेन्ट गराउने मुख्य मानिसले तिम्रो बर्थडे पनि करिब पाँच बर्ष पछाडि सम्म पनि संझिईरहेको रहेछ, कारण के होला बुझिन । त्यो प्याजेन्ट गराउने हाकिम को समग्रलाई बुझ्न फोटोग्राफि सिक्ने बाहानामा केहिदिन तेतिकै त्यो अफिसमा धाएँ । मिसटिन ईभेन्टमा दर्शक हो या आयोजकको रुपमा सहभागि हुँदे गरेको फेसबुक पोष्टको आधारमा थाहा पाएर तिमिलाई देख्नको लागि त्यस कार्यक्रममा पनि पुगेको थिएँ । त्यसदिनको संझना एतैकतै ब्लगमा लेखेको होला । तर मैले त्यसदिन तिमिलाई देख्न चाँहि देखिन । फेरि पनि ऊहि फोटोहरु देखेर चित्त बुझाउनु पर्यो ।

फोटो एउटा लाईट अयान्ड स्याडोको सिक्वेन्स हो । डिजिटल फोटो त मात्रै अंकहरुको मेल हो । ईलोक्ट्रोनि सर्टकिटहरु बन्द वा खुला । मैले तिम्रो तस्बिरहरु बाहेक तिमिलाई बिरलै मात्रै देख्न पाएको छु । मलाई तिमिलाई भेट्न मन थियो । तिम्रो शरिरको अरोमाको सुबास लिन मन थियो । तिमिलाई छुन मन थियो । सँगै घुम्न अनि खान मन थियो । सँगै हाँस्न मन थियो । तिमिलाई चिढ्याउन मन थियो, सँग सँगै तिमिलाई अथाहा माया गर्न मन थियो ।

सजिलो र अप्ठेरो सबै समयहरु पनि सँगै बिताउन मन थियो । दुख सुख सँगै बिताउन मन थियो । एक अर्काको आँखाको गरिराईमा पुग्न पुगेर हेर्न मन थियो ।

बिबिस थर्ड यएर पढ्दा, जिबनमा पहिलो पटक केटिलाई फोन गर्दा मुटु बढो जोड जोडले धड्किएर मानौं फुट्नै आँटेको जस्तो भएको मलाई अहिले पनि याद छ । तिमिलाई फोन गर्दा तेस्तो नभएतापनि सँधै असुरक्षित महशुस गर्दथें कि कतै बिचैमा तिमिले मलाई फोन नगर भनिदिने पो हो कि । तेसैले धेरै फोन गर्नपनि डर लाग्न थालेको थियो । प्रत्येक पटक म्यासेजको रिप्लाई कयौं घन्टासम्म कुरिरहेको हुन्थें । तिम्रो एउटा एउटा म्यासेज र बिरलै आउने फोनको एति महत्व थियो कि मैले ति मोबाईलका सबै म्यासेजहरुलाई अहिले सम्म सुरक्षित राखेको छु । सँधै सुरक्षित राखिराख्छु । तिम्रो एउटा मिसकल देखें भने कति खुसि लाग्थ्यो कि शब्दले बयानै गर्न नसकिने हर्षित र प्यारो लाग्दथ्यो । तिमिले पहिले म्यासेज गर्यौ भने त्यो म्यासेजलाई कम्तिमा बिस पटक पढ्दथें ।

तिम्रो म्यासेजहरुलाई चुप्पा गरें । तिम्रो मिसकलहरुलाई चुप्पा गरें । तिम्रो तस्बिरहरुलाई चुप्पा गरें ।   

....कपालमा रँग लगाउनु अगाडि, आँखामाथिको आँखिभूँई प्राकृतिक रुपमा जथाभाबि छरिएर ऊम्रिएको बेलामा, आँखामा तल वा माथि गाजलहरु लगाउनु भन्दा अगाडि, हातका अम्लाका नङ्गहरु टोक्दा टोक्दा निकै भित्र दबिएर कुरुप भएको बेलामा, नङ्गमा रँग लगाउनु अगाडि, ओठमा लालिको रंग थप्नु भन्दा पहिले, म्यासेजको लामो लामो रिप्लाई गर्नलाई आग्रह अनि जिद्दि गर्ने बेलामा, फोन कल गर्नलाई आग्रह गर्ने बेलामा, तिम्रो फोन चलाउँदा बिना संकोच चलाउने दिने बेलामा, त्यो मेरो कपालको झराहरु ऊख्लिने गरि तान्ने बेलामा, आफु सँगैको साथिलाई छोडेर परतिर लगेर कुरा गर्ने बेलामा न कि यो किन यहाँ आएको होला भनेर मनमनै सोच्ने बेलामा, मैले सिमा नाघेर जानिजानि गरेका ति गर्ननहुने कुराहरुपनि सजिलै सुनिदिने बेलामा, जुठो मोमो जबरजस्ति कोचाईदिएको दिनमा, अनुहार बाट सनस्कृन र क्रिमको कृतिम बास्नाको साटो प्राकितिक छालाको अरोमा आउने बेलामा, च्यातिएका पाईन्ट, कहिले ढाड देखिने कहिले भूँडि देखिने त कहिले तिघ्रा देखिने पहिरन छनौट गर्नु भन्दा अगाडि, मेरो अनुहारमा हेरेर मनैदेखि हाँस्दा ति देखिने दाँतहरु पँहेलो भएकै बेलामा, बाटोमा हिँड्दै गर्दा सुसु गर्ने ठाँउ सोध्ने बेलामा, तिम्रो खुला र एकदमै प्यारो दिलले म सँग ठुलो ठुलो स्वरले बिना संकोच कुरा गर्ने बेलामा, पहिलो पटक भेट हुँन थाल्दा भागेर अन्तैतिर बसेको बेलामा ........... हो तेहि बेलामा हो मैले तिमिलाई माया गरेको, मैले तिमिलाई अँगालोमा बेर्न चाहेको , तिमिलाई छुन चाहेको, तिम्रो स्पर्शको महशुस गर्न चाहेको, तिमिलाई फेरि फेरि देखिराख्न चाहेको र तेतिबेलै देखि सँधैकोलागि आफुसँगै राखिराख्न चाहेको ।


तिमिले मलाई फकाउन "कान समातेर ऊठबस गर्छु" भनेको हिजै जस्तो लाग्छ ...

ईन्स्टाग्राममा फोटो सेभ गर्न मिल्ने अप्सन नहुँदा, हरेक फोटोको स्क्रिन सट लिएर फोटोसपमा क्रप गरेर चट्ट पारेर सबै फोटो फेशबुक र ईन्स्टाग्राम बाट बटुलेर आईफोनमा फोटो हाईड गर्ने पेड आ्याप किनेर लुकाएर राख्ने मै हुँ ।


साँचेर राखेको केहि जोर नयाँ जिन्स पाईन्टहरु, टिसर्टहरु, हेयर क्रिमहरु, परफ्युमहरु अब ढुक्कले लगाउन, मैलाउन र सिध्याउन पाउने भएँ । अब तिनिहरुको चमक फिक्का हुनेछन्, बासना कमै फैलिनेछ र ति हत्केलाहरुले मेरो कपाल फेरि कहिलै समात्ने छैनन् त्येसैले अमेरिकन हेयर क्रिम थुपार्नु र साँच्नु बेकार छ ।


म त तिम्रो निश्चल बालापन आँखामा मोहित भएको नि, सनग्लास पहिरिएको भब्य शहर र समुन्द्रको पार्श्वमा होईन । भेट भएको दिनदेखि आजसम्म  मलाई तिमिलाई हरेक दिन भेट्न मन थियो । हरेक दिन कम्तिमा एउटा न्यानो अँगालो हाल्न मन थियो । तर करिब एक दशक त तिमिलाई आफनो बनाउनको लागि कुरेरै बिताउने बेला हुन थालेछ ।


मैले तिमिलाई पुर्ण माया गरें । ह्वातै एकैपटक । मैले सम्पुर्ण म तिमिलाई दिएछू । मैले अन्धो भएर माया गरें । मैले अरु केहि हेर्न चाहिन किनकि मैले साँचो माया गरेँ अनि सामिप्यताको लागि हतारिएँ । समय भन्दा महत्वपुर्ण केहि छैन । फेरि त्यो समय फर्केर आऊँदैन । मैले त जाने सम्म बिन्ति गरें ।


मैले तिमिलाई तिम्रो गोडामा  ढोगेर तिमिलाई पाउने भए म तिम्रो गोडामा ढोग्ने थिएँ । मैले कसरि बिन्ति गरौं ? मैले तिमिलाई कसरि पाउन सक्छु ? भन न । बिन्ति छ मलाई स्विकार गरन । म तिमिलाई सँधै माया गर्नेछु । मेरो प्राणले सके जति तिम्रो लागि गर्नेछु । मलाई तिम्रो माया देउन । मलाई साथ देउन । बिन्ती ।

तिमिलाई देख्न मन लागेर तिमी पुगेको सिनेमा घरको Exit मा पनि आईपुगेको थिएँ । लुकेर तिमिलाई हेरेर घर फर्किएको थिएँ । चियो गर्न आएको चाँहि होईन ।  तिमिलाई असाध्यै देख्न मन लागेकोले तेसो गेरको थिएँ पछि तेसरि हेर्नपनि छोडें किनकि कतै चियो गरेको जस्तो पो हुने होकि । फेशबुकबाट सेभ गरिएका ति लो रिजोलुसनको तिम्रो ईमेजहरुलाई जुम गरि गरि तिम्रो आँखाहरु हेर्ने प्रय्त्न गरें ।  मैले जाने जति माया गरें । मेरो मनमा भएजति माया गरें ।


बिदेशबाट आईपुगेको एकजना दाजुले फर्कने बेला अलि धेरै पैसा दिएर गएपछि त्यो पैसा सबै तिमिलाई गिफ्ट किन्न प्रयोग गरें । मेरो संझना भइरहोस र म प्रति आकर्षित हुन्छौकि भन्ने आशाले ति गिफ्टहरु किनेको थिएँ । त्यो गिफ्ट मध्येको एउटा रिष्ट ब्यान्ड तिम्रो नारिमा हेर्ने कत्रो धोको थियो । फोटोहरुमा त कहिलै देखिन । थाहा भएन के गर्यौ । मैले कहिलै तिमिलाई दु:ख दिन चाहिन तेसैले कहिलै पनि स-साना प्रश्नहरु गर्दैन थिएँ ।

भर्खरै  आएको ठेउला बाट बनेको खतै खतको अनुहार लिएर भएपनि तिम्रो घरमा आएको थिएँ ताकि दिनभरि तिमिलाई देख्न पाईन्छ । मौका मिलेर देख्न पाएको दिन कसरि नआई रहन सक्थें र । त्यो दिन तिमिले सबै जना सँग एक एक गर्दै सेल्फि खिच्यौं तर  म सँग म सँग किन खिचेनौ ? म कति प्रतिक्षारत थिए कुन बेला म भएतिर आएर खिच्छौ होला भनेर । म कति उत्साहित थिएँ हाम्रो सेल्फि कस्तो आउला भनेर ।

दाजुले बिदेश बाट आउँदा लेराएको चकलेटहरु, तिमीलाई खुवाउन एक मुठि लुकाएर राखेको थिएँ । तर त्यसपछि कहिलै भेट भएन लुकाएर राखेको चक्लेट तेतिकै रहेछ ।

एकदिन फेरि तिम्रो घरमा आउने मौका मिल्यो । तिमिलाई देख्न पाउने भएर कत्ति उत्साहित थिएँ । आँखा झिम्क्याउने समय बाहेक, बाँकि अरु सबै समय तिमिलाई देखिरहुँ भईरहेको मिठो पलमा तिमिलाई चाँहि आईब्रो थ्रेडिङ्ग गर्न जानुपर्ने कामले महत्व राखेको थियो । त्यो दिन तिमिले राति तिम्रै घरमा बस्नको लागि अनुरोध गर्न तिमिले मेरो हातलाई आफुतिर तान्दै गर्दा तिमिले तानेको मेरो हात तिम्रो पेट सम्म पुगेको थियो, मैले त्यो श्पर्शलाई पनि स्मरणमा कैद गरेर राखें किनकि मलाई निकै प्यारो लागेको थियो ।

दाजु सँग लाज पचाउँदै “आज एतै बसौं न त भने” । ठुलोबाको घर बानेश्वर बाहेक कतै बस्ने बानि नभएको मैले त्यहाँ बस्ने भन्दा दाजुले पनि नबुझेको चाँहि होईन ।

राति सुत्ने बेला सम्मपनि कसैले मलाई यो कोठामा सुत्नु भनेर भनेन्, त्यस क्षणमा ठुलो ईम्बारेसमेन्ट महशुस गर्नु पर्यो । आखिर मलाई बेवास्ता भयो जस्तो महशुस भयो ।


बिहानिको कलेज जानलाई बिहान सबेरै हिँड्न थालेको तिमिले मलाई ब्युँझाउँदै बाई भन्न आएको प्यारो क्षण जिबनकै अमुल्य समय भयो । तेति मिठो पल अब कहिले आउला र ? म त्यो दिन कति हर्षित थिएँ । त्यति प्यारो क्षण  मैले जिबनमा पहिले कहिलै महशुस गरेको थिईन । मैले घर पछाडिको बत्ति बालेर तल बाहिर तिमिलाई हेरें । तिमिलाई पर सम्म देखिने बेला सम्म हेरें । तिमिले फर्किएर हेर्छौ होलाकि भनेर आशा गरें । तिमिले फर्केर हेर्न चाँहि बिर्सियौ क्यारे ।

बिहान निदाईरहेको मलाई तिमिले  मेरो पाखुरामा हत्केलाले थोरै चलाउँदै ब्यूझाउँदा, जिबनभरकै मिठो निन्द्रा ब्यँझाई थियो । आँखा खुल्दा तिमि थियौ र तिमिले लगाएको सनस्कृन र परफ्युमको बास्नाले कोठा भरिईसकेको रहेछ, त्यो नै जिबनको  सबैभन्दा मिठो पल थियो ।  चोरि औंलाले आफ्नो मुख थुन्दै मलाई नबोल्न भनेर ईशारामा भन्न खोज्दै थियौ ।
मैले त्यसदिन तिमिलाई अँगालो हाल्दै चुप्पा गरेको भए के गर्थ्यौ होला ... ? मैले तेसो गर्ने आँट कसरि गर्न सक्थें,  तैपनि तेस्तो भाबनाले मन भरिएको चाँहि थियो । मलाई साँच्चिनै त्यसदिन तिमिलाई आफु सुतिरहेकै छोछ्यान बाट अंकमाल गर्न मन थियो । तेस्तो प्यारो क्राईम गर्न पाएको भए म कति सम्पुर्ण हुनेथिएँ ।


तिमिलाई देख्न र भेट्न नपाउँदा असह्य पिडाले मन भरिएपछि, ईन्टरनेट बनाउने बाहानामा जबरजस्ति तिम्रो घरमा आईपुग्दा तिमिले खुसि भएर बोलेको संधै संझनामा रहिरहन्छ । एउटा सेल्फि सँगै खिचौं भनेर फोटो खिच्न थाल्दा हात काँपेर मैले खिच्न नसकेपछि तिमिले खिचेको थियौं । त्यो दिन खिचेको हाम्रो सेल्फिलाई मैले फोटो फ्रेममा राखेको छु । लुकाएर ।


प्रत्येक होलिको दिन रँगहरुमा सजिएको तिम्रो तस्बिर हेर्न ब्यग्र प्रतिक्षामा हुन्थें । होलिको रंगहरुमा सजिएको तिमिलाई देख्दा मन आनन्दित हुन्थ्यो । मैले तस्बिरमा बाहेक देख्न पाईन । आँखाले सत्क्षात देखेको जस्तो कसरि हुन्थ्यो होला र । प्रेम र भाबना कसरि निकाल्नु । तैपनि मैले रङ्गमा सजिएको तिम्रो अनुहारलाई कयौंबेर हेरिरहन्थें ।


तिमि बिदेश जान थालेको छौ रे भन्ने सुनेपछि सबै आकाशमा ऊड्ने प्लेलको अवाज देखि भयभीत हुन थालेको थिएँ । एयरपोर्ट तिर बस्दै गरेका उड्दै गरेका सबै प्लेनहरु सँग मनमनै रिस ऊठ्न थालेको थियो । आखिर एकदिन त्यो प्लेनले तिमिलाई लिएरै गएछ म भन्दा धेरै टाढा । अब फेरि तेहि प्लेनलाई हेर्न थालेको छु तर रिस होईन, बिन्ति भाबले कि मेरो मायालाई कुनैदिन फेरि लेराइदिनु, सकेसम्म चाँढै, आजै, अहिलै ।
मैले तिमिलाई चोक चोकमा देखिन्छकि भनेर आँखा तान्न नपर्ने भयो । रातो स्कुटरहरु देखेपछि तिमिले चलाईरहेको हो कि भनेर ध्यान दिन नपर्ने भयो । तिम्रो कलेजको युनिफर्म लगाएका हरु मध्येबाट तिमिलाई खोज्न नपर्ने भयो । अब मैले तिमिलाई कसरि देख्नु र ।

अब बिस्तारै डिटिटल ईलोक्ट्रिनिक्स मा सिमित भयौ तिमि ।  यो बिलाप बाहेक मैले केहि गर्न सक्दिन । म निरिह छु । आज म एकदमै थकित र गलित छु । मन रुँदा रुँदा थाकिसकेको छ । आँखामा गहिरो निन्द्रा नपरेको बर्षौं भईसक्यो । प्रत्येक पल केहि हराएको र कहि गुमाएको महशूस भईरहने रहेछ ।

तिम्रै शब्दहरु सापट लिँदै सोध्नमान लागेको कुराहरु ..... बिदेशि बिश्वबिद्यालयमा गएर पढ्नु पर्ने कस्तो पढाई रोज्यौ । बिदेशै पुग्नुपर्ने कस्तो करिअर बनाउन थाल्यौ? तर जे जस्तो भएपनि मेरो धेरै शुभेच्छा छ तिमिलाई । राम्रो गर्नु । तिम्रो ईच्छाहरु पुराहोस । तिमि सँधै खुसि हुन पाउनु ।

तिमिले भन्थ्यौ मलाई
“म जस्तो ज्ञानि केटि तिमिले टेलिस्कोप लगाएर पनि पाउँदैनौ”
तिमिबाहेक अरुलाई रोजेकै छैन/थिएन, तिमिलाई त पाईसकें त अरुलाई किन खोज्थें र, बरु तिमिले पो मलाई तिम्रो बनाउन चाहेनौ  । अब त साच्चिकै टेलिस्कोपले पनि नदेखिने ठाउँमा पुग्यौ । मैले कसरि तिमिलाई देख्नु ।

मेरो मोबाईलमा अपरिचित केटिको तस्बिर देखेपछि चित्त दूखाएझैं किन नबोलि हिँडेको थियौ । अपरिचित सँग च्याट गर्दा भाईबर म्यासेन्जरमा सेयर भएको मिडिया मेरो फोनको फोटो ग्यालेरिमा बसेको थियो । मैले त्यस केटिलाई चिनेको पनि थिईन, बोलेको पनि तेहि भाईबरको च्याट, त्यसमा पनि मैले भन्दा पनि त्यो केटि कसरि हो आफैं च्याटमा आईलागेकि थिई ।

मैले माग्नु माफि पनि र मागें नि । तिमिलाई सके जति आश्वासन दिलाउँदै आश्वस्त पार्न खोजें नि । मैले जाने जति गरें नि ।  होईनर ?

मैले हरेक हप्ता अनेक बहानामा भेट्ने प्रस्ताब गरेकै हो नि, तर तिमिले कहिले घाम लागिरहेको छ त कहिले पानि परिरहेको छ भनेर टार्ने गर्यौ, त्यसपछि मैले फेरि कर गर्न छोडें । मैले तिमिलाई कहिलै दु:ख दिन चाहिन । किनकि मैले सच्चा मनबाट तिमिलाई चाहाना गरेको थिएँ । अझैपनि बिन्ति गर्छु, आउ भेटौं, सँगै समय बिताऔं, सँगै हाँसखेल गरौं..... म तिमिलाई कसैले कल्पना पनि गर्न नसक्ने माया गर्छु । म मेरो सम्पुर्ण तिमिलाई दिन्छु । सँधैभर उत्तिकै माया, स्नेह र साथ दिनेछु ।


मोबाईल फोनमा जुनबेलै फेशबुक र ईन्टाग्राम मात्रै चलाउने तिमिलाई पिङ्क कलरको ल्यापटप उपहार दिने रहर थियो ताकि तिमिलाई प्रबिधिको सहि उपयोग गर्दै गुणात्मक परिबर्तन आवोस । अहिले त तिमि निकै परिबर्तनहरु आईसक्यो होला । ठलो देश ठूलै चाला भईहाल्छ । बरु अब मलाई चाँहि सिकाउनु हाम्रो भेट भयो भने । 

फन्डामेन्टल अफ मार्केटिङ्गको लेक्चरर हुँदा तिमिलाई पनि एक कपि नोट तयार पारिदिन थालिसकेको थिएँ । बोलचाल को शिलशिला रोकिएको भएतापनि कसैगरि तिमि सामु पुराईदिने दृढ निश्वयको साथ तिम्रो लागि नोट तयार पारिदिदै थिएँ । त्यो पनि तेसै अधुरै भयो ।  

अहिले सम्म घरमा आएका पाहुना, दाजुभाई तथा दिदिबहिनीहरु घरबाट बिदा भएर जाँदै गर्दा कहिलै झ्यालबाट नहेर्ने मैले, तिमि फर्किँदा आँखाले भ्याएसम्मको दुरिमा तिमिलाई हेरेछु । तिमिलाई घरमा अन्टिले बोलाउनु भएको दिन घन्टौं सम्म बाटोमा आँखा रहिरह्यो । तिमिहरुले आउन ढिला गर्नु र मैले तिमिलाई घन्टौं सम्म आँखा खियाएर हेर्दै कुर्न पाउनु संयोग भएछ । तिमि फर्किएपछि घर कयौं घन्टा सम्म घर सुनसान जस्तो लाग्यो । मैले तिमिलाई मन पर्ने पानिपुरि खाजा खाने निर्णय गरेर सामाग्रि तयार राखेको थिएँ । एकपटक भनेको पनि थिएँ पानिपुरि बनाउँछु खाएर जाने होईन भनेर... तिमिले खै सुनेनौ । 

त्यसदिन मैले हामि सबैको फोटो खिचौं भन्न पनि सकिन । लाज भयो । अप्ठेरो लाग्यो । फोटोको तेतिका सोंख लाग्ने मैले बाबा अन्टि को अगाडि सबैजनाको फोटो खिचौं भन्नै सकिन । तेति गर्न सकेको भए आज कम्तिमा त्यो फोटो संझना स्वरुप म सँग हुने थियो  । केहिदिन अगाडि पहिरिएर पोष्ट गरेको फोटो देखेको मैले तिमिलाई त्यसदिन पनि त्यहि रातो टिसर्टमा आउनु भनेर जिद्दि गरेको थिएँ ।

बिदेश पुगेको कयौं महिना सम्म तिम्रो शहरको Weather Time लाई हेर्दै तिम्रो दिनचर्याको अडकल लगाउन थालें । कोठामा एउटा छुट्टै घडि राख्न थालें जसले तिम्रो शहरको समय देखाउँथ्यो र त्यसले गर्दा मलाई तिमि के गर्दै होलाउ भनेर अडकल लगाउन र संझिन सजिलो हुन्थ्यो ।

Weather ले थोरै तापक्रम देखाउँदा ज्याकेट सापटि दिन मन लाग्थ्यो । गर्मिका दिनहरुमा चाँहि लुगा एकदमै शिरिर नछोपिने गरि लगाएर हिँड्यौकि भनेर मनमा पिर लाग्थ्यो ।

तिमि पुगेको शहरको नक्साहरु हेर्न थालें । तिमि बस्ने ठाउँ, तिम्रो बिश्वबिद्यालय तथा तिमले काम गर्ने स्थानहरु को बारेमा जान्न मन लाग्यो । तेसैले नक्सा हेर्न थालें । बिशाल शहरमा कसरि अडकल लगाउने । केहि त थाहा छैन । तिम्रो बसोबास, बाटोघाटो, बिश्बबिद्यालय सबैको गुगल स्ट्रिट भ्यु हेर्न मन लागेर तेसो सोचेको थिएँ तर मैले कसरि तिम्रो ठेगाना थाहा पाउनु र । त्यसरि चियो गरेको तिमिलाई मन नपर्न पनि सक्दथ्यो तेसैले त्यो चाहानालाइ पनि त्यागिदिएँ ।


हरेक पटक नयाँ ठाउँमा पुग्दा केहि न केहि मायाको चिनो बोकेर आउने गरेको थिएँ । त्यो पनि कहिलै दिन पाईन । मैले दिएको रिस्ट ब्यान्ड खै कहिलै लगाएको देखिन ।  तिमिले मलाई दिएको भए सँधै लगाउने थिएँ ।  सबै यात्राहरुबाट लेराएको मायाको चिनोहरु एतैकतै सुरक्षित राखेको छु । त्यो तिम्रै हो । मैले मेरो मायाको लागि लेराएको मायाको चिनो । मेरो मायालाई । मेरो प्राणलाई । 

सपनामा तिमिलाई देखेको रात अर्को दिन आधा दिन सम्म हँसिलो र खुसि भईरहन्थें मानौं कि मैले तिमिलाई भर्खरै भेटेको छु । प्रायस राति सपनामा तिमिलाई देखियोस् भन्ने इच्छा गरेर सुत्ने गर्दछु । सपनामा देख्दापनि नब्युँझिउनजेल त साँच्चिकै भेटेको जस्तो त हो नि ।

हरेक पार्कहरु, बाटो घाटोमा हिँडिरहेका, रेष्टुरेन्टमा सँगै खाईरहेका, सिनेमा घरमा सँगै सिनेमा हेर्दै गरेका, बसमा सँगै यात्रा गर्दै गरेका, मोटरसाईकलमा पर पर सम्म घुम्न हिँडेका, आनन्दले फोटोहरु खिच्दै हाँस्दै रमाईरहेका जोडिहरु देखेर मन कल्पिन्थ्यो । मैले प्रतेक क्षण तिमिलाई संझीन्थें । भगबान सँग प्रार्थना गर्दथेंकि हाम्रो मिलन होस् । हामि पनि एसैगरि रमाउन पाईयोस् । सँगै हिड्न पाईयोस् ।


तिमिले जिस्किँदै सिँगान पुछिदिए जस्तो गर्दै नाकमा दलेको रुमाललाई मैले जनत साथ राखेको छु । धोएपछि तिम्रो स्पर्श हराउँछ भनेर बरु नयाँ रुमाल किनेको छु । तर त्यस रुमाललाई जतन सँग राखेको छु ।  अहिले धेरै समय  भईसक्यो त्यसबाट तिम्रो श्पर्शहरुत हराईसके होलान् तैपनि मायाको चिनोको रुपमा सँधै राखिराख्ने छु ।


एति ठुलो बृत्ताकार एरर रिङ्ग तिम्रो कानमा देखें । तिम्रो कानको लोति बिगार्ला वा च्यातिएला भनेर त्यसलाई तुरुन्तै खोलिदिन मन लागेको थियो । तिमिलाई मेरो छनौट थाहा छैन र मेरो छनौट तिमिले प्रयोग गर्नेपनि त होईननि । मलाई त स्टोन भएको टप लगाएको पो मन पर्थ्यो ।


तिम्रो बोल्ड देखिने आउटफिटले मलाई कहिलै आकर्षित गरेको नै छैन, मलाई त अति साधारण तर छरितो पहिरनमा स्पोर्ट सुजमा स्फुर्तिको साथ हिड्दै गरेको तिमि मन पर्ने कल्पना गरेको थीएँ ।
 

मैले कति मिठो ठट्टा गर्छु भनेर रचेर बसेको थिएँ । म भेजिटेरियन हुँ, तिमि मासु खाने मांशाहारि । मासु खाएको दिन तिम्रो मासु खाएको मुखले मलाई किस पाईन्न भन्ने मिठो ठट्टा मनमा खेलाएर बसेको थिएँ । त्यस्ता अनगिन्ति ठट्टाहरु मनभित्रै मरेर गईसक्यो ।

छोरालाई कति धेरै लुगा लेराएको थियौ रे भन्ने पनि सुनें, मलाई कसैले भनेको त होईन मैले आफैंले अड्कल गर्दै बुझेको । मैले तिम्रो बारेमा केहि खबर पाएको छैन । कसैले पनि तिम्रो कुरा म सँग गर्ने गर्नु हुन्न । आकल झुकल अन्टिले बाहेक तिम्रो नाम कसैले उच्चारण पनि गर्दैनन्  मसँग ।  


मैले तमिलाई आफ्नो बनाउँन नपाए पनि तिम्रो सन्तान चाँहि अबश्य हेर्ने रहछ छ किनकि आधा तिमि हो नि । के नाम राख्छौ होला । छोरा हुन्छ कि छोरि होला । कस्तो देखिने होला । खुब ऊत्सुक छु ।

हाम्रो भएको भएँ झन कति उत्सुक हुन्थें होला । ठीकै छ भाग्यमा रहेनछ चित्त बुझाउनु नै पर्यो ।

तिमि बश्ने शहरको फोटोलाई, तिम्रो संझनामा कम्युटरको वालपेपर कयौं समयसम्म राखें र राखिरहेकै छु । सेन्ट्रल बिजनेस डिस्ट्रिक्टमा रहेको अग्लो घरहरु मध्येमा  कुनै न कुनैमा त तिमि पक्कै हुन्छौ होला भन्ने कल्पना गर्दै ति घरहरुलाई हेरिरहें 


मोबाईलको स्क्रिनमा देखीने तिम्रो तस्बिरमा सयौं पटक चुम्बन गरें । हजारौं पटक तिम्रो तस्बिलाई दोहोह्राई दोहोह्राई हेरिरहें । एकपटक मैले रुखलाई अंकमाल गरें । आलिङ्गनको महशुस गर्नलाई रुखलाई रोज्नु पर्यो ।

तिमिलाई भेट्न कहिलै नपाएपछि तिम्रो नाम कहिलै उच्चारण गर्न पाईएन । तेसैले तिम्रो नामलाई उच्चारण गर्न मन लागेर मनमनै  उच्चारण गरें । चित्त बुझेन, डराई डराई अरुले सुन्लान् भनेर सानो स्वरमा उच्चारण गरें । चित्त बुझेन । आफ्नो मायाको नाम ठुलो स्वले बोलाउन मन लाग्यो । राति सबैजना निदाएपछि उच्चारण गरें । अलि निर्धक्क भएर अलि ठोलो स्वरले । पुरा नाम, आधा नाम, मायालु नाम, आफुले बनाईदिएको नाम अनेक अनेक । भित्तालई हेरेर तिम्रो नाम बोलाउन पर्दा कति खल्लो हुन्छ होला ।

त्यसपछि त्यसरि मैले तिमिलाई निरन्तर बोलाईरहें । तिम्रो नाम उच्चारण मौका मिल्योकि गर्न थालें । घरमा एक्लै हुँदा, सुनसान रातहरुमा, एकान्त जँगलहरुमा ।

तिम्रो नाम सजाएर लेखें । रङ्गिन मसिहरुले तिम्रो नाम सझाएँ । सयौं चिठ्ठिहरु लेखिरहेको छु । प्रतेक दिन तिमिलाई संझिएर र तिमिलाई नपाउँदा जिबन निरअर्थक महशुस गरेको छु । प्रत्येक क्षण खल्लो महशुस गरेको छु । पुर्ण समय रित्तो महशूस गरेको छू ।

पहिलो पटक तिम्रो नाम सुन्दा कति राम्रो लागेको । तिम्रो नाम सुनेर तिम्रो नाम मा नै मायामा परें । कसैले उच्चारण गरिरहे हुने र म सुनिरहन पाउँ जस्तो लागेको थियो ।

दाजुको बिबाह पक्का गर्न जानु भएको बा-आमा पनि तिमि सँग प्रभाभित भएर आऊनु भएको थियो । खुब सँग निडर भएर मज्जाले कुरा गर्यौ रे । खुब हसिँलि मजाकि रहिछ भन्दै तारिफ गर्दै आउनु भएको अहिले सम्म पनि संझना ताजै छ ।

आज खुब सँग नमजा लाग्यो । आँखाबाट आँसुहरु झरे । सास रोकिएला जस्तो भयो । बेस्सरि अत्तालिएँ, एस्तो महशुस भयो कि मैले तिमिलाई गुमाएँ ।

रोएर नहुने, कराएर नहुने, झट्कालिएर नहुने । मलाई आफ्नो बनाउ न भनेर जिद्दि गर्न नमिल्ने, फकाएर पनि नहुने, के गर्दा हुने हो थाहा भएन । मेरो चाँहि सँधै माया र चाहाना ।


म लाचार प्रेमि हो । मैले कसैलाई नगरेको प्रेम तिमिलाई गरें । घरमा आईपुगेको तिम्रो सल चिनेर खुब सँग सुँघेको थिएँ । तिम्रो सुबास लिनलाई त्यो सललाई कयौं पटक चलाएँ, र धेरै पटक सुँघेर तिमिलाई संझिएँ ।


मैले तिमिलाई हरेक पल संझिरहेको छु । मैले तिमिलाई सँधैको लागि कुरिरहेको छु । समय, अंकगणित र समाजको सामान्य नियम बाट एक्लिएर भएपनि म तिमिलाई सँधै कुरिरहने छु ।


तिम्रो
"....... "

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home

मेरो नयाँ अथवा पुरानो लेखहरु हेर्न एता थिचेपनि हुन्छ

Newer›  ‹Older