यात्रा संस्मरण- सगमाथाको हेराई - नाम्चेतिरको पदयात्रा ।
जिबन भनेकै यात्रा हो रे । सुनेको ।
मेरो बिचारमा चाँहि जिबन भ्रम हो । बास्तबमा हामि सपनामा छौं ।
आफु बसिरहेको ठाँउ भन्दा फरक ठाँउमा जाँदै गर्दा ताजगि महशुस हुने गर्दछ । नयाँ भुगोल, परिबेश र नयाँ पर्याबरणमा बिचरण गर्दा भिन्दै महशुस हुने गर्दछ साथसाथै ज्ञानको तथा अनुभबको अभिबृद्दि हुने गर्दछ ।
मिलेसम्म म यात्रा गर्न रुचाउँछु ।
भिन्न रहनसहन, पृथक जिबनशैलि तथा भिन्न परिबेशबाट सिकिएको ज्ञान तथा अनुभबले एक प्रकारको उर्जा मिल्ने गर्दछ ।
त्यसैले...
बसन्त ऋतुको मध्य तथा नयाँ बर्षको सँघारमा सर्बोच्च शिखर सगरमाथाको फेदितिर सम्म पुग्ने निधो गरेर यात्राको योजना बनाईयो । मैले सगरमाथाको फेदितिरको यात्रालाई नाम्चे बजार सम्म जाँउ भनेर सर्बप्रथम प्रस्ताब राखें त्यसमा पर्यटन ब्यबसायको काममा लागिरहनु भएका तथा यात्राको लागि जुझारु तथा मनोबैज्ञानिक सहाँस पर्याप्त भएका दाई बिनयले
पहिलो फोनमै करिब करिब समर्थन गरिहाल्नु भयो ।
पहिलो फोनमै करिब करिब समर्थन गरिहाल्नु भयो ।
![]() |
| बिनय ढुङ्गाना |
हाल म बसिरहेको समाज 'दुबाकोट' काठमाडौं उपत्यकाको प्राचिन मनोरम आबासिय क्षेत्र थियो । बस्तिको करिब बिचभाग तिरबाट बस्तुभाउ चराउन तथा खेतिपातिको लागि हिँड्ने क्रममा बनेको साँघुरो बाटो जुन म ऊपत्यकाको आदिबासिको रुपमा गर्बसाथ भन्नु पर्दा हाम्रो आफ्नो आबासिय क्षेत्रको 'हाम्रो आफनो आबासिय' बाटो हो । जुन आज अति अब्यबस्थित रुपमा ब्यबसायिक बाटोको रुपमा प्रयोग गरि रहेको छ । बिकशित भौतिक समाजमा बाटोको प्रकार र प्रयोजनको आधारमा बर्गिकरण भएका रहेछन । बसोबास क्षेत्र र ब्यबसायिक क्षेत्र पृथक गरिएका रहेछन् । हामिले त्यो राम्रो कुरा कहिलै सिकेनौ तथा अहिले सम्म पनि सिक्ने चासो कसैमा देखेको छैन ।
मैले आजको यस अति अब्यबस्थित समाज र बस्तिमा बस्नु पर्दा दिनहुँ घर अगाडिबाट अति चर्को आबाजमा बज्ने प्रेसर हर्न सुन्नुपर्छ र त्यो झर्को खेप्नु र सहनु पर्दछ । प्रत्येक २-३ दिनमा बन्द कोठाभित्र थुप्रिईने धुलोको पत्रलाई पुच्छ्नु पर्छ । यसैबिच म - हामिले पुस्तकै पुस्तकले भरिएको Library नाम दिएको कोठाको धुलो पुच्छ्ने क्रममा नेपालको नक्सा भेटाएँ । बिहानको कलिलो घाम कोठामा छिरिरहेको थियो र मैले नेपालको नक्सा हेर्दै गर्दा सगरमाथा राष्ट्रिय निकुन्जमा आँखा पर्न गएछ । यसपछि मैले आफ्नो मनमा यात्राको निधो गरिहालें ।
बिदेशबाट आईपुग्दै गर्नु भएका दाईसँग भेटघाटको लागि पर्याप्त समय होस भनेर निधो गरेको यात्रा केहि हप्तालाई थाति राख्न सोचेको थिए तर पछि उहाँलाई मेरो साथ तेति मेरो अपेक्षा जति नचाहिएको महशुस भएपछि मैले पनि सगरमाथा तिरको यात्रालाई रोजें ।
नाम्चेबजार पुग्ने निधो चाँहि गरें तर कताबाट पुग्ने कसरि जाने केहि अत्तोपत्तो थिएन । त्येहि धुलो पुच्छने क्रममा भेटाएको नक्सा र google म्यापमा धेरै बेर घोरिएर लगभग जाने योजना र बाटोको तय गरें ।
पुर्बतिरको गाडि चढ्ने, --- ओखलढुङ्गा बस्ने.... सोलुखुम्बुको सदरमुकाम सल्लेरि पुग्ने .... त्यसपछि सोध्दै खोज्दै पदयात्रा गर्दै पुग्ने यो मेरो मनको बाटो थियो ।
यो पटकको यात्रामा चाँहि ब्यागप्याक सँग सँगै मेरो जिबनको सबैथोक म सँगै थियो । मेरो बाबा ।
![]() |
| बाबा |
| बाबा |
सरकारि सेवा तथा स्वेएच्छिक भ्रमणको शिलशिलामा नेपालको ६५ भन्दा बढि जिल्लातिर पुगेर यात्रा गर्नुभएको अनुभब थियो तर बढ्दो उमेर सँगै ति अनुभब र नेतृत्व क्षमतामा कमि आउन थालिसकेको थियो तेसैले यात्राको चाँजोपाँजो चाँहि दाई बिनय र म भएर गर्यौं ।
ऊमेरले सहाँसलाई कसरि छेक्न सक्थ्यो र । बाबा, बिनय दाई, आशिस दाई र म यात्राको लागि निस्कियौं ।
अघिल्लो दिन धुलैधुलो र कोलाहाल बस्ति "बौद्द, चुच्चेपाटि, चाबेल" तिर भौंतारिएर किनेको जिपको टिकट अनुसार कलंकिबाट चढ्नेले ४:३० र सल्लाघारिमा चढ्नेले ६:०० मा जिप चढ्नु पर्ने थियो । हाम्रो समाजमा समयनिष्ठ मानिसहरु मैले त भेटेको छैन, होचा कदका ति टिपिकल मंगोलियन रुप देखिने ड्राईभरदाई लाई के वास्ता । धन्न जसोतसो समयको चाँजोपाँजो मिलाएकै थिए । साईतबस घर अगाडिबाटै चढ्न पाएर ५:५० मा सल्लाघारि चोकमा पुगेर ऊभिएर जिप कुर्न थालेका हामि बाउ छोराले ७:१० मा जिपमा उक्लिन पायौं । सिटचाँहि अघिल्लो दिन तय गरेको भन्दा भिन्न थियो । चारजना बस्नुपर्ने अन्तिम सिटको हरफमा एउटा बिदेशि अधबैंशे पुरुष दूइजनाको शरिर जत्रो एकैजनाको शरिर थियो । उसको छेउमा बाउ छोरा बसेपछि ठाँउ सकियो । त्यो ठुलो ज्यानको बिदेशि रसियन रहेछन् । पदयात्रामा जानलाई ब्यागप्याक सँगै Ukulele प्रकारको सँगितको साधन सँगै लिएर आएका रहेछन् । यसबाट बुझियोकि भाषा नबुझिएतापनि ति मानिस पक्कै निक्कै रसिक या कलायुक्त अन्तर्मुखि हुनसक्छन् ।
ति रसियन मानिस बसेको ठिक अगाडि सिटमा ५० बर्सको अर्कि रसिनय महिला पनि थिईन, पाँच दिन सम्मको यात्रामा सँगै हिडेतापनि ति बिबाहित जोडि हुन या के हुन् बुझ्न सकिएन् यसको मुल कारक चाँहि भाषागत समस्या थियो । ५४ बर्षका ति दिमित्रि नाम गरेका रसियन र गुजाल नामकि ति महिलालाई १-२ बाहेक कुनै अँग्रेजि शब्द नआउने रहेछ । ऊनिहरुको ऊमेरपनि मोबाईलको calculator को साहायता तथा दाह्रि र कपालतर्फ ईशारा गर्दै उमेर थाहा पाएको थिएँ । ९ जाना यात्रा गर्न सकिने जिपमा ति रसियनहरु, हामि चारजाना बाहेक अरु दुईजना मंगोलियन रुप देखिने नेपाली दाजुभाई हरु थिए र एकजना सानि करिब किशोर ऊमेरकि नानि थिईन् ।
बालखकाल देखिनै शाहाकारि थिएँ । जनाबरहरुलाई पनि उत्तिकै माया गर्थें । गाईको नाक छेडेको देखेर रुन मन लाग्थ्यो । आँगनमा केहिबेर अघि सम्म घाँस र पानि खाँने खसि केहिबेपछि काटिएको देखेर कहिलै मासु खान मन लागेन । त्यो दिन बिहान जिप कुर्न सल्लाघारिमा ऊभिइँदै गर्दाको दृष्य ह्रदयबिदारक थियो ।
भर्खरै मुलबाटोको बिचभागतिेर एउटा कुकुर गाडिको ठक्करबाट मृत थियो । सँगै अरु ३-४ कुकुरहरुले पालै पालो घरि घरि त्यो बाटोको बिचमा मृत कुकुरको अगाडि घुमिरहेका थिए ।
आत्मा सबैको एउटै हो । सबैलाई बाँच्ने ईच्छा हुन्छ । गाडिले नकुल्चिदिऊ भने मिल्थ्यो । तर राक्षसरुपि भौतिक समाजमा कुकुरलाई कुल्चिईदा समाचार बन्दैन, मानिसको ठुलो भिडले घेरेर दुर्घटनालाई हेरिदैन । तेसैले ऊसले गाडिको गति अलिकतिपनि कमि गरिदिएन बरु एउटा प्राणलाई कुल्चिदिएर मारिदियो । त्यो कुकुरको दुधे बच्चाहरु हुन सक्छन् । ऊसको पनि घर हुन सक्छ जहाँ बच्चाबच्चिहरु आमालाई कुरिरहेका हुन सक्छन् ।
रातो सुमोले मोटरसाईकलाई ठक्कर दिएर भागेको सुचनाले गर्दा हाम्रो रातो जिप चाँहि बाटोमा केहिबेरको लागि पुलिस चेकिङ्गमा अड्किनु पर्ने भयो । पहाडि बाटो धेरै पर पुग्नु पर्नेमा बिहान सबेरै अड्किनु पर्दा चाँहि केहि अत्यास लाग्ने रहेछ ।
पहिलो दिनको यात्रा भक्तपुर देखि सोलुखुम्बुको सदरमुकाम सल्लेरि देखि अलि माथि फाफ्लु सम्मको थियो । यो काठमाडौं देखि सल्लेरि सम्म करिब २५८ किलोमिटर हुने रहेछ । कतै नरोकिई सरासर जाँदापनि ७-८ घन्टा लाग्ने दुरि । पुर्बतिर लाग्दै गर्दा जापान सरकारले बनाईदिएको बि.पि हाईबेको कार्यकुशलता तथा कामको दत्तचित्तता तथा निश्चितक कार्यको कार्यकुशलता देख्दा र सडक देखेर खुब आकर्षित भईन्छ । तर बिडम्बना हाम्रो समाज ! .... हाईवेको छेउहरुमा अस्तब्यस्त पारामा बनेका चिया नास्ता होटलहरु, र अब्यबस्थित बसाई तथा सडकको संरचना माथिको अतिक्रमणले देख्दा माल पाएर चाल नपाएको ऊखानको चरितार्थ भएको थियो । सडक छेउको ब्यबसायको लागि सडकका ढलहरुलाई जताततै जानाजान पुरिएको छ, सडकै छेउमा घरहरु बनाईएका छन् । यसमा स्थानिय समुदाय, प्रशासन तथा सम्बन्धित निकायको ध्यान पट्टक्कै गएको देखिएन ।
| उदयपुर–ओखलढुङ्गा सिमानामा पर्ने घुर्मि |
तराईतिरबाट आउने, काठमाडौंतिर बाट आउने, र सल्लेरितिरजाने बिचको संगम, पहाडको खोचँमा भएको त्यो फुङ्ग चोक थियो घुर्मि । घुर्मिमा खानपाएको त्यो लामो लामो सिताको खुब मुलायम भात, त्यो फोहर घुर्मि चोक अनि अब्यबस्थित होटलहरु बिर्साउने खालको थियो । तेहि भात खानलाई भनेर घुर्मि चोकको त्यो होटलमा पुगौं जस्तो ।
घुर्मिबाट ओखलढुङ्गातिर हुँदै सल्लेरितर जाँदा जति जति पहाडतिर गईन्छ तेति तेति पहाडि उचाईतिरको यात्रामा मजाको अनुभब हुन थाल्छ । "मेरो प्यारो ओखलढुङ्गा" भन्ने युगकबि सद्दिचरणको कबिता, स्कुल जिबनमा पढेको संझना हुने कबिता मध्येमा पर्दथ्यो । त्यसमा ओखलढुङ्गाको खुब बयान गरिएको छ भनेर सरहरुले कबिताको अर्थ लगाउँथें । सानो बेलामा उपत्यकाको चारैतिर पहाडले घेरिएको ठाँउमा हुर्किएको र यात्राको रुपमा मामाघर हेटौंडा भित्रि मधेस सम्म पुगेको मात्रै अनुभन थियो तेसैले गर्दा त्यस बखत त्यो ओखलढुङ्गा हेर्न पाए कस्तो हुने, कस्तो ठाऊँ होला जस्तो लागेको थियो ।
स्कुले जिबनमा नाम सुनेर कल्पित भएको त्यो ओखलढुङ्गा बयस्क भएपछि पुग्दा छाँगाबाट खसेको जस्तै भयो । जताततै अब्यस्थित बजार, पहाडको चोटिमा पनि जमेको त्यो ढल, खाल्डा खुल्डि पिच सडक, साँघुरा गल्लि, जता ततै झुन्डियका तार र होर्डिङ बोर्ड, कुनै घर निकै सुरिला अग्ला र कुनै घरहरु जस्ताले बनेका छाप्राहरु र अब्यस्थिय आधुनिकताले लतरपतर पारेको त्यो करिब उजाड देखिने पहाड ।
| ओखलढुङ्गा बजार नजिकैको स्थान र हाईवे । |
होर्डिङ्ग बोर्डतिर नाम पढेको लेखिएको थियो "रमाईलो डाँडा" । फोहर र आधुनिक कुरुपताले कत्तिपनि रमाईलो छैन डाँडा । युगकबि सिद्दिचरणले कबिता लेख्दा पक्कै तेस्तो थिएन होला र मैले कबिताको अर्थ सुन्ने बेला सम्म पनि तेस्तो कुरुप थिएन होला ।
अन्तिम सिटको हरफमा त्यो भद्दा शरिरको रसियन, बाबा र म बस्दा ठाँऊ ठिक्क सकिएको थियो । त्यस अबस्थामा बिचमा एकजना कालो बर्णको बयस्क केटा रमाईलो डाँडाबाट सल्लेरितिर जान जिपमा हामि भएको सिटमा ४ को सँख्या पुर्याउन आँउदा कसरि अटाउने होला जस्तो लागेको थियो तर जसोतसो अटाईयो । टम्म दाँत मिलेको जस्तो भएर सिटमा खाँदिएर बस्यौं । हातमा सबै नङ्गहरुमा रातो नेल पोलिस लगाएको त्यो सिंचाईको सब ईन्जिनियर बताउने कालो बर्णको बयस्क केटाले हामिलाई धेरथोर तेताको बस्तुस्थिति तथा बाटोबाट देखिएको जलबिद्मुत योजनाहरुको बारेमा जानकारिहरु दिए ।
करिब चार बजेतिर चियाको लागि बिश्राम लिएको ठाँउमा नयाँ स्वादको "नुन चिया" पियौं । मलाई चाँहि नुन चिया गाईले खाने कुँडो जस्तो लाग्यो । ऊम्लिएको पानिमा मकैको पिठो र नुन हालेको लाई नुन चिया भनिने रहेछ ।
| नुन चिया खान बिश्राम लिएको एक होटल । |
हामिले नुन चिया पिउँदै गरेको पसलमा भेटिएका गोह्रो छाला भएका बिदेशि केटाहरु मध्येको एकजना चाँहि मजाले नेपाली भाषा बोल्न जान्ने भएको रहेछ । बिदेशिले मजाले नेपाली भाषा बोलेको सुन्दा हामि हर्षित भयौं ।
करिब दश घन्टा देखि त्यो पहाडको घुमाउरो र साँघुरो बाटोमा एकनाश जिप हाँकिरहेका ति हाम्रो मंगोलियन अनुहारका ड्राईभर दाईको परिश्रम चाँहि अति प्रसंसनिय तथा कदर योग्य थियो ।
करिब ६ बजेतिर हामि सल्लेरि बजार पुग्यौं । बिनय दाईले सल्लेरि देखि अलि माथि फाप्लुसम्मको लागि भनेर टिकट खरिद गर्नु भएको थियो तर सल्लेरिमै गाडिले रोकिदिँदा उँहालाई फाप्लुको ख्याल भएन ।
पहाडतिरको होटलको बसाई भन्दा खुवाई असाध्यै महङ्गो हुने रहेछ । होटलको सबैभन्दा माथिल्लो तलाको काठै काठले मोरेर बनाईएको बुगेल जस्तो कोठामा चार वटा सिङ्गल बेड थियो त्यो हाम्रो पहिलो दिनको बसाईको कोठा थियो । सँगै गाडिमा भेट भएका अँग्रेजि नजान्ने रसियनहरु पनि हामि बसेकै होटलमा बस्दै थिए र भाषागत समस्याको लागि हामि बाट मिडियटरको रुपमा थोरै सहयोगको अपेक्षा गर्दै हामि सँग सँगै रहन थाले ।
बाबा र मैले सल्लेरि बजारतिर बेलुका घुम्यौं । Kathmandu मा भर्खरै शुरुवात हुँदै गरेको ब्रान्डेड क्लोथिङ KTM CITY को स्वोरुम पनि थियो ।
सदरमुकामको बजार अति साँघुरो बाटो र भद्रगोल बसाई थियो । पाखाहरुमा अब्यबस्थित रुपमा बियर तथा रक्सिका शिसिहरु जथाभाबि लडिरहेका थिए, त्यहि फोहरको अस्तब्यस्ताको माझ ठुलो बोर्ड राखेर गेट बनाईएको जिल्ला प्रशासन कार्यलय थियो । पाखाभरि जथाभाबि लडिरहेका ति बियर तथा रक्सिका शिसिहरु, फोहरुको थुप्राहरु सँगै रहेको प्रशासनको उपस्थिति तथा कार्यालय देख्दा म सँधै अचम्मित हुन्छु । आखिर सबै सरकारि निकायहरु दैनिक कस्ता किसिमका कामकाजमा ब्यस्त रहन्छन् होला ।
बढो खेदको रुपमा भन्नु पर्दा, मेरो बाल्यअबस्थाको अनुभब अनुसार, किलामा दाम्लोले बाँधिएको गाईले पनि २-३ कदम पछाडि हटेर दिशा पिसाब गर्थ्यो र २-३ कदम अगाडि बढेर बस्ने गर्थ्यो । सफा भुई नपाए घोडा बस्दै बस्दैन रे । जनाबरहरुबाट सिक्न सकिने यस्ता उदहारणहरु अनगिन्ति छन् । अब हामि कुन स्तरको बिबेकको छौं, सोच्न योग्य छ ।
सरोज तामाङ्ग नामका एकजना ट्रेकिङ गाईड हामि भएकै होटलमा बास बसेका रहेछन् । उनि सँग अगाडिको बाटोको बारेमा प्रशस्त गफ गरेको थिएँ मैले । ऊनले अनुभबको आधारमा राम्रो समय दिएर, आत्मिय सल्लाहा दिएका थिए । कुरा सुन्दै जाँदा सल्लेरिबाट खाना र चियाको बिश्राम बाहेक बिहान ७ देखि साँझ ५ सम्म करिब ४ दिन पुरा हिँडेपछि नाम्चे पुगिने जानकारि प्राप्त भयो । यसैमा अर्का थरिले सल्लेरे देखि अधेरि सम्म पहाडि बाटोको लोकल जिप चढेर जानमिल्ने बिकल्प पनि बताईदिए ।
म अनि बाबा हिँडेर जाने पक्षमा थियौं, यसैबिच जिपको बिकल्पको निर्णय हाबि भयर जिप चढ्यौं तैपनि मलाई यो बिकल्प रोज्नु पर्दा मनमा कुनै संकोच तथा रोष थिएन ।
होटलको बास तथा खानाको पैसा भुक्तानि गर्दै गर्दा हरेक कुरामा पैसा घटाउन पर्ने बानि लागेको हामि काठमाडौं शरहको मानिसहरु मध्येको दाई आशिसले पैसा घटाउन आग्रह गर्दा ति थपनिले साहुनिले नानाथरि भनेर मन दुखाउने खालको शब्दहरु प्रयोग गरिन, हामिले वास्ता नगरि पैसा तिरेर निस्कियौं ।
बाटोमा भेट भएका रसियनहरु सँगै हामि चारजना जिप चढेर अधेरितिरको लागि बिहान ७ बजेतिर गुड्न थाल्यौं । ति सँगितका सौखिन रसियनले पहाडि बाटोमा खुब सँग हल्लिएर चढिरहेको जिपमा पनि खुब उर्जायुक्त सँगित सुनाएका थिए ।
| सल्लेरिबाट अधेरि जान चढेको जिप । |
हामि जिपमा भएका सबैजना खुब सँग रमायौं । एकजनाले ऊचालेर थपिदिए "त्यो र रसियनको Sentimental Song हो रे" । 4 wheel Drive भनेको सुनेको थिएँ बुझेको थिईन । अगाडिको चक्कामा पनि ईन्जिन र गियरले काम गर्ने लाई भनिने रहेछ । त्यो पहाडमा भर्खरै खोलिएको त्यो बाटो कम्ति अप्ठेरो थिएन । ति भुटानमा ३० बर्ष गाडि चलाएका भनेका बुढा मंगोलयन अनुहारका ड्राईभर दाईले सजिलो सँग जिप हाँकिरहेका थिए ।
हिमालि भेगतिरको त्यो चिसोमा बिहानको नास्ता 'थुपा' खाँदा खुब सँग सन्तुष्टि मिल्यो । पत्ता भाँचिएको जिपलाई ड्राईभर दाईले रबरले बानेर ठिक गर्दै गरेको देख्दा त्यो रसियन अचम्मित हुँदै थिए । ऊनि आफैं केहि प्रकारको मेकानिकल काम गर्ने गरेका रहेछन् । भाषागत समस्याले गर्दा केहि कुराहरु हुन सकिरहेको थिएन । ईसाराको भरमा अति जरुरि संबाद मात्र हुन सकि रहेको थियो ।
बिहानिको त्यो पहाडको चोटिमा एक्लै बनाईएको घरमा चिया नास्ता खाएर वरपर बरालिँदै गर्दा, अर्को जिपबाट ओर्लिएका एक पुरुष फोनमा बोल्दै गरेको कुरा झट्ट कानमा पर्यो - "सर्भर डाउन छ भन्दिनु अनि राजश्व नबुझ्नु, त्यो बेलुका जम्मा गर्न जान झनझन हुन्छ, कहाँ काटिराख्नु रसिद, हुँदैन भनेर अलमलाईदिनु नि" ।
ति यातायात सम्बन्धि कार्यालयको कर्मचारि रहेछन् । कति सजिलो सँग बाँकि ठुलो सँख्याको सेवाग्राहिलाई दु:ख दिन सकेका । म त्यो कर्मचारिको कुरा सुनेर मनमनै आबेगमा आएको थिएँ । यस्ता नरपिचाश हरु समाजमा अनगिन्ति छन जसले काम नगरिकनै र अरुलाई दु:ख दिएर मासिक पैसा आर्जन गर्दछन ।
करिब १:३० तिर हामि अधेरि पुग्यौं । हतार हतार खाना खाएर हामि पहिलो दिनको क्याम्प खरिखोलाको लागि ऊकालो लाग्यौं ।
| जिपको गन्तब्य - अधेरि । |
हामि ६ जनामध्ये ति रसियन अधबैंशे पुरुष र आशिष दाईलाई हिँड्न अलि सकिरहेका थिएनन्, बाँकि हामि सरासर सजिलो सँग हिँडिरहेका थियौं । गुजाल महिला भइकन पनि त्यो ठुलो ब्याकप्याक बोकेर खुरुखुर अघि अघि हिँड्दै थिईन । पानि परेर ओत लाग्न होटलमा बसेर चिया पिउने तथा थकाइ मार्ने निर्णय गरेर चिया पियौं । चियाको प्रतिकप ७० रुपैंया तिर्न परेपछि झसंङ भयौं ।
खै के कारण हो यात्रारत बिनयदाई चाँहि हामि सबैलाई पछाडि छोडेर र हामिलाई नपर्खि त्यो दिनको गन्तब्य नजिक रेष्टुरान्टमा पुगेर बसिरहनु भएको रहेछ । बाबालाई त्यसो गरेको पटक्कै पन परेको थिएन । किनकि उहाँ सँग पहाडि बाटोहरुमा हिँड्ने लामो अनुभब छ । तेसो गर्नु नहुने थियो ।
६ बजेतिर पहाडको खोँचमा रहेको खरिखोला भन्ने ठाँउ पुग्दा झमक्क साँझ परेको अनुभब भईसकेको थियो । सफा चटक्ट ढुङ्गा छापेर बनाईएको ढुङ्गाको आँगन र बाटो एउटै भएको र दुई छेउतिर लज भएको ठाँउमा हामि बास बस्नको लागि सहमति बनायौं । ढुङ्गाले बनेको घरमा भित्र काठले मोरिएको, फोटोहरुले भरिएको भित्ताहरु, हिमालमा चिया बनाउन प्रयोग गर्ने अनौठो खालको काठको चियादानि, यस्तै यस्तै हिमालि सामानहरु र साजसज्जाले भरिएको फराकिलो डाईनिङ्ग र लबिमा प्रबेश गर्दा आनन्दको अनुभिति हुने थियो ।
| खरिखोला नजिकै साँझको बेलामा । |
चार घन्टा खुरुखुरु ऊकालो चढेर आएका हामि सबैलाई, लबिको सोफाजस्तो खाटमा बस्न पाउँदा शरिरलाई खुब आनन्द मिलेको थियो ।
बेलुकाको खाना छिट्टै खाएर हामि आ-आफ्नो कोठातिर लाग्यौं । रसियनहरु बाटोपारिको होटलमा बसेका थिए । हामि चार जना बाटो वारि थियौं । आज हामिले दूई वटा कोठा लिएका थियौं । बत्ति पनि नभएको कोठामा मोबाईलको उज्यालोले धानधान धुनधुन गरेर हामि आ-आफनो ओछ्यानमा पल्टियौं ।
ओछ्यानमा पल्टियपछिको केहि अंश यात्रा संमरणमा अहिलेलाई लेखिहाल्न नहुने छ, समय सँगै लेख्दा फरक पर्दैन । तर जे भएको थियो त्यो अति नै हास्यास्पद तथा मन प्रफुल्ल हुने क्षण थियो ।
बिहान ऊठेर हिमालतिर हेर्दा हिमालको चुचुरोको हिँउमा घामको ऊज्यालो परिसकेको थियो ।
हेलिकप्टरहरु, प्लेनहरु सबै पहाडलाई छेउ पार्दै माथितिर जाँदै थिए । बुढि शेर्पिनि आमाले भनेकिन् लुक्ला, बेसक्याम्प तिर गएकारे । मौसम खुलेको दिन हेलि र प्लेनको खुब सँग ओहोर दोहोर हुने रहेछ । हामिले 'हेलिकप्टर' भन्थ्यौं तर तेतातिर सबैले 'हेलि' मात्रै भन्ने रहेछन् पछि फर्कने दिन हुने बेला सम्म त मलाई पनि 'हेलि' मात्रै भन्ने बानि लागिसकेको थियो ।
बिहान कालो चिया खाएर ७ बजेतिर ऊकालो लाग्न थाल्यौं । केहिबेर पछि नास्ता गर्न बिच बाटोमा बिश्राम लियौं । रायोको साग हालेको चाउचाउ बनाएर खुवाईन, त्यहि पनि स्वादिष्ट लागेको थियो । त्यो चिसो हिमालि भेगमा जे खाएतापनि स्वादिष्ट लाग्ने रहेछ ।
ऊकालो लाग्दै गर्दा रातो रङ्गको ब्याकप्याकमा हिमाल चढ्दा प्रयोग गरिने Stick बोकेका शेर्पा अनुहारका भाई देखेपछि ऊनिसँग कुरा गर्न मन लाग्यो । मैले बाटो सोध्ने बाहानामा बोलचाल शुरु गरें । नभन्दै ति भाईले गाईडको काम गर्दै सगरमाथा आरोहण गरिसकेका रहेछन् । २० बर्षको उमेरमै ऊनले सगरमाथा आरोहण गरिसकेका रहेछन् ।
दोश्रोदिन खासमा हामिले पैंया भन्ने ठाऊँमा बस्नु पर्ने थियो तर छिटो हिँडेर शुर्के पुग्ने योजना बनायौं । तेसै अनुरुप साँझ ५:३० तिर हामि शुर्के पुग्यौं । दिनभरको हिँडाईले साँझ साँझ पर्न थाल्दा त कुन बेला क्याम्प आईपुग्ला जस्तो हुने रहेछ । खरिखोला र त्यो शुर्के बिचमा, शुर्के आईपुग्नु भन्दा अगाडि केहिबेरको ओरालो निकैनै अप्ठेरो बाटो थियो ।
शुर्केको बसाईमा हामिले कुनै कोठा लिएनौं र लबिमै शुतिदिने निधो गर्यौं तेसैले नयाँ अनुभब भयो । हामिलाई चिसो हिमालतिर पुगेर चिसो पानिले नुहाउने आँट थिएन, लुगा फेर्नुपर्ने थिएन तेसैले गर्दा लबिमै सुतिदिँदा पनि फरक नपर्ने थियो । ति सानि बच्चिको कलिलै ऊमेर देखिने आमाले हामिहरुलाई खानेकुरा पकाएर खुवाईन र राम्रो ब्यबहार गरिन । एकजना सामान बेच्न हिँडेका भरिया दाईको पनि बास हाम्रै होटलमा थियो । ऊनि सँग भोलिको बाटोको बारेमा सोधखोज तथा कुराकानि गर्यौं । दिनभरको थकाईले होला जस्तोसुकै बिछ्यौना तथा लबि भएतापनि निद्रा चाँहि राम्रै पर्ने गर्दथ्यो ।
बिहान चाउचाउ र चिया नास्ता खाएर हामि मोन्जो भन्ने ठाउँ सम्म पुग्ने लक्ष्य बनाएर हिँड्न थाल्यौं । यो बिचको बाटोचाँहि लुक्ला एयरपोर्टको तल फेदि भएर चौंरिखर्क हुँदै माथि उकालो लाग्ने थियो । चौंरिखर्क भन्ने ठाउँचाहि बिशाल पहाडहरु अलि परतिर भएकाले गर्दा अलि फराकिलो होचोपाखा भएको तथा पारिलो घाम लाग्ने खालको थियो । त्यसैले गर्दा त्यो ठाँउ मनोरम देखिन्थ्यो ।
| चौंरिखर्क नजिकै । |
यात्राको दोश्रो दिन देखिनै हामि दुधकोषि खोलालाई झोलिङ्गे पुलहरुले तर्दै घरि दायाँ घरि बाँया पार्दै अघि बढ्दै थियौं । तेसै गर्दै हामिले माथि सम्मको यात्रा गर्नुपर्ने थियो ।
चौरिखर्कबाट अलि पर पुगेपछि खानाको लागि बिश्राम लियौं । सानो देखिने हरियो रङ्गको जस्ता ढल्काएर छाना बनाएको होटलको भित्र सफा थियो । ति शेर्पिनि दिदिले छिटो छिटो गरेर खाना बनाएर खुवाईन् । हामिले त्यहाँ ऊसिनेर राखेको आलु खायौं । एकैछिन रसियनले फेरि गित सुनाए । सानो चुटुक्क परेको होटलको डायनिङ्ग निकै सफा तथा बसिरहुँ जस्तो लाग्ने थियो । त्यतातिर प्रायस सबै घरहरुमा महिला मात्रै हुने रहेछन । श्रीमान कामको शिलशिलामा, ट्रेकिङ गाईड, पोर्टर, या बाटो बनाउने कामहरुमा गएका हुने रहेछन् । सन्तानहरु चाँहि काठमाडौंतिर कामकाज, पढाई या बिदेशतिर पुगेका हुने रहेछन् । ति शेर्पा जोडिहरुको सन्तानहरु कोहि बिदेशतिर, र काठमाडौंतिर रहेछन् र ऊनिहरु पनि सिजनमा ब्यबसायको लागि त्यता बस्ने अनि अफ सिजनमा काठमाडौं आउने रहेछन् ।
हामि मोन्जो भन्ने ठाऊमा पुग्ने ध्याउन्नमा खुरुखुरु हिँड्दै थियौं । आशिष दाई जहिले पनि पछिपछि हिँड्ने गर्नु हुन्थ्यो ।
बाटोमा प्रशस्तै बिदेशि पर्यटकहरु हिँडिरहेका हुने गर्दथे । ति मध्ये अधिकांशले गाईड लिएका हुँदैन थियो । प्रायस ऊनिहरु बिबाहित जोडि या त सम्बन्धमा रहेका जोडि हुने गर्दथे । म चाँहि ति हिँड्दै गरेका हरु सँग संक्षिप्त परिचय गर्दथे, बिशेष गरेर मैले कुन देशबाट आएका हुन जान्ने प्रयास गर्दै थिएँ र सँग सँगै ऊमेर समुह । शरिरले साथ नदिएतापनि जबरजस्ति हिँड्ने ऊमेर ढल्किसकेका जोडिहरु, भर्खर टिन एज पार गरेका जोडिहरु बाटोमा प्रशस्तै भेटिन्थे ।
पदयात्राको लागि आउने अधिकांश बिदेशि पर्यटकहरु चाँहि काठमाडौं बाट लुक्ला सम्म प्लेनमा आउने रहेछन् । तेसैले गर्दा हाम्रो तेस्रो दिनको हिँडाईमा प्रशस्तै बिदेशि पर्यटकहरु भेटिएका थिए ।
हरसमय धुलोले छोपिने सबै किषिमको प्रदुषणले ब्याप्त तथा सामाजिक सास्तिले निचोरिएका हामि काठमाडौं ऊपत्यकामा बस्नेलाई पहाडको त्यो स्वच्छ पर्याबरण, त्यो कन्चन नदि, शुद्द र चिसोपानि बग्ने झरना, शरिरलाई ताजगि प्रदान गर्ने सिमहरु, बनजंगलहरु, त्यो मनमोहक हरियालिहरु, हिमालको चिसो तथा हिँउले छोपिएका पहाडहरु, सल्लाको रुखहरु सुसाएर आउने ध्वनि, त्यो नदि बग्दा आउने अवाज सबै कति आनन्द दायक हुन्छ होला जुन शब्दबाट प्रकट हुनै सक्दैन । हो त्यो अनुभब गरें मैले ।
भिरालो पाखाहरुमा ढुङ्गाहरु एकमाथि अर्को चाँङ्ग लगाउँदै बनाईएको पर्खालले गर्दा अर्के किसिमको बसोबासको झलक आउने गर्दथ्यो । सल्लेरि देखि माथि लाग्न थालेपछि बाटोमा पर्ने सबैजसो घरहरुमा होटल, रेष्टुरान्ट तथा लजहरु हुने गर्दथे । ढुङ्गा चाङ्ग लगाएर ढुङ्गाले बनाईएका घरहरु मा राखीएका झ्यालहरुमा हरियो, निलो, या पँहेलो रँगहरु लगाईएका हुन्थे । छानाहरु चाँहि आजभोलि जस्ताले छाउन थालेका रहेछन् नत्र ढुङ्गाकै छाना हुने गर्दथ्यो रे ।
'शुर्के' देखि 'मोन्जो' बिचको बाटोमा प्रशस्तै ठुला होटलहरु तथा लजहरु थिए । ति होटलहरुको बाहिरि आर्किटेक देख्दा प्रत्येक होटलको फोटो खिचेर बसिरहुँ जस्तो लाग्ने थियो । भित्र झन भब्य साजसज्जा हुने गर्दथ्यो । मोन्जो सम्म पुग्दा नै खानाको खर्च खुब महङ्गो हुन थालि सकेको थियो । झन माथितिर पुग्दा कति पुग्ने होला भन्ने गणितिय त्राश मनमा उब्जिन थालेको थियो ।
बाटोमा हिँड्दै गर्दा भारि लादिएर ऊकालो लाग्दै गरेका तथा ओरालो झर्दै गरेका खच्चर तथा चौंरिहरु देख्दा मन भरिएर आऊँथ्यो । तिनिहरुको दुख देखेर मनमा करुणा जागेर आउँथ्यो । मैले ति खच्चरहरुको अनुहारमा नियालेर हेर्ने गर्दथें, आँखामा गहिरिएर हेर्ने गर्दथें । भारिको डोरिले खुईलिएका ढाडतिरका रौंहरु हेर्ने गर्दथें । खुरतिर हेर्ने गर्दथें । त्यपछि मनमनै जिबन, जगत, सृष्टिको चक्र तथा सभ्यताको गहिरो साहित्य तथा चिन्तनमा लाग्ने गर्दथें ताकि निष्कर्ष निकाल्न सकियोस कि भईरहेको सबै ठिक हो या अत्याचार ।
मोन्जो पुग्दा पानि पर्न थालेर साँझ भईसकेको थियो । एउटा होटलमा बास पक्का गर्यौं । होटलको लबि यात्रा अबधिभरकै भब्य थियो । फोटोहरुले मलाई सँधै आकर्षित गर्ने गर्दथ्यो । पारिबारिक फोटोहरु, दलाई लामा, हिमालको दृष्य सहितका सबैप्रकारको फोटोहरुले सजिएको त्यो काठै काठले सजिएको भब्य देखिने पहाडको चोटिमा बनाईएको घरको लबिमा शिसा झ्याल नजिकै बिश्राम गर्दै चिsssसो मौसममा चिया पिउनुको मजा स्वर्णिम आनन्ददायक थियो ।
गफ गरेको मिजासिलो देखिएतापनि सँधैजसो अपरिचित पर्यटकहरु सँग ब्यबहार गर्ने बानि लागि सकेकोले गर्दा पैसाको लागि खुब चँईया हुने बानि लागेको रहेछ । करिब ३७०० को बिल तिर्दा अचकल्टो फिगर आएको २० रुपैंया पनि नछोडेर कयौं बेर लगाएर पैसा खोजिमेलि गरेर २० रुपैंयापनि नछोडेको देख्दा अचम्म लागेको थियो । ति शेर्पनि जोडिले पनि हामि सँग मिजासिलो भएर गफ गरेका थिए ।
त्यसदिको बसाईमा सबैभन्दा सफा कोठा तथा बिछयौना पाएको थियौं । बाबाले भन्नु भएको म खुब मस्तले निदाएको थिएँ रे ।
बिहान नित्यकर्मको लागि बाहिर निस्कँदा हिमालमा हिँउ घामको किरणले टल्किरहेको थियो । चिसो र ताजा हावामा आनन्द लिँदै फोटोहरु खिच्दै त्यसदिनको यात्राको लागि तयारि भयो ।
मेनुमा देखिएको सबै नास्ता असाध्यै महँगो थियो तेसैले मेनु बाहिरको फ्राई राईसको लागि भनेको थियौं । पहिलेनै पैसा कतिहो भनेर सोध्नुपर्नेमा मैले सोध्न बिर्सिएछु पछि बिहान शेर्पा दाईले बासिभात त्यहिपननि निकै थोरै सर्भिङ्ग गरेर प्रति सर्भिङ्को ३०० ठटाईदिए ।
अहिले सम्म पैसा आर्जनै नगरेको मलाई महँगो त नभएकोत कहाँ हो र त्यसमा पनि सहयात्रि दाईले महँगो डिल भएको असन्तुष्टि बताईहाल्नु भयो । मैले त यात्राको पहिलो दिन देखिनै पर्यटन ब्यबसाईको काममा रहनु भएको अनुभबको आधारमा खाने, बस्ने सबै प्रकारको बन्दोबस्तिका कुराकानि तथा सहमतिहरु बनाउने जिम्मा दिन खोजेको थिएँ तर तेहि त हो ...
बिहानको नास्तापछि, नाम्चेबजार हुँदै, Hotel Everest View मा पुग्ने गन्तब्यको रुपमा निष्कर्ष गरेर अगाडि बढ्यौं । अन्तिमदिन नाम्चे पुग्नलाई चाँहि ठाढै नाक ठोसिने ऊकालो चढ्न पर्छ भनेर बाटोमा तथा बास बसेको ठाउँमा सुनाएका थिए , तेस्तै नभएतापनि निकै ठाढो ऊकालो चढ्नु पर्ने रहेछ ।
| लार्चे दोभान को झोलुङ्गे पुल । यहाँबाट पनि सगरमाथाको अलिकति टुप्पो देखिन्छ रे । |
बाटोको बिचबिचमा बनाईएका ढुङ्गाका बिनहरु प्रसंसनिय थिए । तर अफसोच मैले जताततै फोहरहरु फ्याँकिएका देखें । मैले चाँहि चक्लेट मुखमा हालेपछि चक्लेटको खोल बाटोतिरै फ्यालिदिन छोडेको करिब ११ बर्ष भयो । तेसैले मैले सगरमाथा क्षेत्रमा फोहर फ्याँकेर पक्कै पनि आईन यस कुरामा म गर्ब गर्न सक्दछु ।
ढुङ्गाले बनाईएका सिँडिहरु तथा ठाडो उकालोको थकानलाई बाक्लो सल्लाघारिबाट आउने चिसो हिमालि बतासले बिर्साईदिन्छ । त्यो बाक्लो सल्लाघारि बाट आउने यसप्रकासको सुबास मलाई सँधै मनपर्ने गर्दछ ।
पर्ति जमिनहरु, बिजुलिको हाईटेन्सनलाईन मुनि तथा यस्तै यस्तै ठाउँहरु चाँहि सरकारि अफिसहरुको थलो हुने गर्दछ बिशेस गरि पुलिसहरुको अफिस चाँहि जुन काम जनतालाई गर्न हुँदैन भनेर नियम बनाईएको हुन्छ हो त्यहि ठाँउ चाँहि पुलिसको अफिसको थलो भएको मैले सयौं देखेको छु । गौंडाहरुमा बाटोमै आईपुग्ने गरि, पार्कहरुमा कुरुप टिनको डब्बा आकारको घर चाँहि पुलिसको अफिस ।
| Traffic Police Office Right beneath the high-voltage lines. at Bhaktapur |
मलाई २०७३ साललको जनैपुर्नीमाको अघिल्लो दिन सम्म मात्र पुलिस प्रशासन प्रति सम्मान थियो । त्यसपछि मैले पुलिसबाट जस्तो अनुभब पाएको छु, मेरो जिबन पर्यन्त त्यो पुर्ण संगठन मेरो लागि सँधै तेहि प्रतिबिम्बको रुपमा रहने छ । मेरो गणितिय रुपमा झल्काईदिनु पर्दा १०० मा १ पनि गल्ति थिएन, उल्टै जानाजान पुलिस प्रशासनले मलाई ठुलो सास्ति दियो ।
नाम्चेबजार आईपुग्न थाल्दा कान्लामुनितिर एउटा छाप्रो देखिन्छ् । त्यहाँ पढ्न सहज हुनुभन्दा असहज हुने गरि केहि सुचनाहरु टाँगिएका रहेछन् । त्यो चाँहि पुलिस चेकिङ् पोईन्ट रहेछ । तर हाम्रो लागि होईन बिदेशि पर्यटकहरुको लागि मात्रै रे । मैले यसो सुचनाहरु पढ्दै गर्दा भित्रबाट बोलाएको जस्तो सुने । "म नेपालि हो" भनेर बाँकि कुनै शब्द बोलिन र अनुहारमा पनि हेरिन । किनकि त्यहि प्रशासन बाट यस अति असल नागरिक (म) लाई जानाजान दु:ख दिईएको छ ।
ति रसियनहरु सँगै हुनाले यात्रा भिन्न खालको भएको थियो । निकै अप्ठेरो बाटोमा पनि त्यो रसियन Uklele बजाउँदै गित गाँउदै ठटेउलि पारामा हिँड्ने गर्दथ्यो । ऊनिहरुले "आलु" "धन्यबाद" जस्ता शब्दहरु भन्न सिकिसकेका थिए । त्यसदिन म नाम्चेबजार आईपुग्न थाल्दा सहयात्रिहरु भन्दा अलि अगाडि बढेको थिए कारण थियो त्यहाँ पहिला पुगेर नाम्चेबजारको Stock Image खिच्ने । बाबा मलाई पछ्याउँदै छिटोछिटो आईपुग्नु भएछ । छिटो छिटो अघि लाग्ने क्रम शुरुहुनु भन्दा पहिले मैले हाम्रो सहयात्रि रसियनलाई बाटोमा माथिबाट झर्दै गरेको अर्को रसियन सँग भेटाईदिएको थिएँ । त्यहाँ ति रसियनहरु गफ गर्न थाले, बिनय र आषिशदाई सँगै ग्रुप फोटो खिच्न थाल्दै हुनुहुनथ्यो । यस माहोलमा मैले सोचें ऊनिहरु सँगै आउने छन् म अघि बढ्दै गर्छु तर सबैजना आफुजस्तो सजिलो मनको कहाँ हुन्छन् र....
त्यसपछि मैले ति रसियनहरुलाई देख्न पाईन । नाम्चेबजार निकै ठुलो थियो तेसैले खोज्न पटक्कै सम्भब थिएन । एउटा डकुमेन्ट्रिमा सुनेको थिएँ कुनैपनि बोलचालबिना नै कुनै मानिसहरु ७२ घन्टा सँगै भए भने एक अर्कोको साथि हुन थाल्छन् रे । मैले तेस्तै अनुभब गरें जतिसुकै भाषागत समस्या भएतापनि पाँचदिन देखि सँगै हिडेको रसियनहरु मलाई साथि जस्तो लाग्न थालेको थियो । मैले अन्तिममा बिदा भएर छुट्टिन नपाउँदा निकैनै खल्लो महशुस गरें । अहिले पनि मलाई ति रसियनहरुको मिठो संझना आईरहेको छ । ऊसले कति हर्षित भएर ukelele बजाउँथ्यो । गुजाल ५० बर्षको उमेरमा कति छुनुकमुनुक गर्दथि ।
सहयात्रि दाजु बिनयले छुट्टै पर भिन्दै टेबलमा बसेर त्यो दिनको लन्च खाने निर्णय गर्नुभयो । खै कारण मैले बुझिन । मैले या हामिले के गल्ति गरेको थियौं र ?
सगरमाथाको प्रबेशद्वार जस्तै रहेछ नाम्चेबजार । नाम्चेबजार चाँहि फोटोहरुमा धेरै पटक देखेको थिएँ । नाम्चेबजारको बसाई तथा फैलावट करिब U shape को देखिन्छ । सुनेको त्यहाँ प्रशस्तै बार र पब हरुपनि छन् रे । होटल लज तथा रेष्टुरान्ट नभएको त घर नै छैन भन्दा हुन्छ । गल्लिको बाटो तथा हिमाल तिरको लागि ऊपयुक्त हुने लुगाफाटाहरु तथा सामान्य बन्दोबस्तिका सामानहरु थता बिभिन्न किसिमका सामानहरुले भरिभराउ बजार करिब ठमेल बजारको झझल्को दिने खालको रहेछ। बैंकहरु तथा ATM सुबिधा भएको सुचना बोर्डहरु पनि देखेको थियौं । सुनेको थियौं रातिको बजार झनै रमाईलो हुने गर्दछ ।
| नाम्चेबजारको झलक पछाडिपट्टिबाट । |
खासमा नाम्चेबजार प्रख्यात हुनुको कारण चाँहि हरेक किसिमका पर्यटकको बसाई पर्ने रहेछ त्यो ठाउँ । बिशेषगरि समुन्द्रि सतहतिर को बसोबास गर्ने पर्यटकहरु सँगसँगै, हामि सामान्य पर्यटकहरुको लागि पनि हिमालि उचाईको Acclimatization ( परिस्थिति-अनुकूलन - अभ्यास ) को लागि तथा रेष्ट डे को रुपमा सबैले नाम्चेलाई रोज्ने रहेछन् ।
जब हामिले नाम्चेबजार पुगेर लन्च खाने सुरशारमा थियौं तेतीखेरबाट बाक्लो हुस्सु तथा बादल आएर पुरै छोपेर आयो । नाम्चेबजार अब पुरा हुस्सु र कुहिरोले ढाकिएको थियो । यसले गर्दा अगिसम्म देखिएको पहाड तथा बजारको पर पर सम्मको बसाई केहिपनि देखिन छोडेको थियो । एक्कासि आएको कुहिरोले नाम्चेबजार अगाडिको KOngde Ri ( 6187 m ) हिमाललाई छोपिदियो ।
नाम्चे बजारमा हामिले दिउँसको लन्च खाएर माथि चढ्न थाल्दा निकै हुस्सु र कुहिरोले ढाकेर आयो । बाटो पनि धेरैतिर फिजिएको तथा कुहिरोले ढाकेको अबस्थामा बाटो पहिल्याउन मुस्किल हुन थालेको थियो । हामि त्यो दिन माथि खुमजुङ्ग भन्ने गाँउमा बास बस्ने र भोलिपल्ट बिहान Everest View Hotel बाट Everest हेर्ने योजनामा थियौं ।
बिस्तारै उकालो लागेर ३ घन्टा जतिको हिँडाईमा अन्तत हामिले माथि डाँडाबाट खुमजुङ्ग गाँउ देख्यौं । पुरै हरियो जस्ताहरुले छाना छाएको तथा ढुङ्गाले बनेका घरहरु निकै मनमोहक बस्ति देखिन्थ्यो । कहलिएको नाम्चे बजार भन्दापनि निकै आकर्षको थियो त्यो गाँउ । हामि निकै उत्साहित तथा रोमान्चित भयौं । हामिले प्रशस्त फोटोहरु खिच्यौं ।
| खुमङ्गजुङ् गाँउ |
सल्लेरितिरबाट माथि लागेपछि, होटलहरुको कोठामा बिजुलिको ब्यबस्थाको रुपमा बत्तिको चिम मात्रै हुने गर्दथ्यो । तेसो गर्नुको कारण चाँहि बिजुलिबाट तातोपानि तताएर खानेकुराहरु बनाउन प्रयोग गर्लान भनेर हो कि भन्ने मैले अडकल लगाएँ । मोबाईल चार्ज गर्दा पनि पैसा तिर्नु पर्ने रहेछ तर हामि नेपाली लाई चाँहि पैसा नलिने रहेछन् ।
पोकोपन्तरो होटलमा बिसाएर हामि खुमजुङ् गाँउ घुम्न निस्कियौं । सर एडमन हिलारिले बनाईदिएको स्कुल, गुम्बाहरु डुल्न गयौं । बाटोमा हिँड्दै गर्दा एउटा प्यारो देखिने बालिका लाई देखेर हामिले सँगै फोटो खिच्ने बिचारले फोटो खिच्दै रमाई रहेका थियौं । बच्चिको आमाले फोटो खिचेकोमा कुनै आपत्ति प्रकट गरेकि थिईनन् र सँग सँगै बच्चिपनि खुब सँग हामि सँग रमाउँदै फोटो खिच्दै थिई ।
तेतिकैमा बच्चिको हजुरआमा उमेर देखिने छुच्चि आईमाईले ति अबोध बालिकालाई लठ्ठिले हिर्काउँदै हामि सँग फोटो नखिच्न पन्छाउन खोजिन । "कुईरे पनि होईन, किन खिच्नु फोटो" भन्दै थिईन । तिनलाई कुईरेले चाँहि के नै गरिदिन्छ होला र हामि नेपाली र कुईरे बिचमा फरक छुट्याउन परेको । त्यहाँबाट हामि फरक्क हिड्यौं । म केहि नबोलि अगाडि लागें । मलाई ति बुढि खुब मन नपरेको थियो ।
बेलुका खुम्ङ्जुङ्गको होटलमा को शेर्पिनि दिदि सँग कुराकानि गरेर बस्दै गर्दा थाहा भयो कि बलिया पक्षहरुले स्याङ्बोचे बिमानस्थल बनाउन नदिएका रहेन, ऊनिहरु लुक्लातिरका मान्छेहरु हुन् रे। हामिले उपत्यकामा २० रुपैयामा किन्ने नुन प्रति प्याकेट त्यहाँ १५० जति पर्छ रे । भान्छामा चुल्हो नजिकैको टेबलमा बसेर खाना खायौं र ति होटल साहुनि शेर्पिनि दिदि सँग केहिबेर गफ गरेर दिनको थकाई मेट्न बेलैमा सुत्न गयौं ।
राति पानि परेपछि हिँउ पर्न थालेछ, बिनयदाईले हामिलाई बोलाईदिनु भयो किनकि वहाँ सुतिसक्नु भएको थिएन । मैले पर्दा पर्दैको हिँउको अनुभब गरें तर रातमा भएकोले केहि राम्रो देख्न पाईएन ।
भोलिपल्ट बिहान होटलबाट बिदा भएर बाहिर निस्कँदा पुरै चम्किलो सेतो हिउँले छोपिएको खुमजुङ्ग गाँउ देखियो । अघिल्लो दिन हरिया छानाहरु देखिएको गाँउ भोलिपल्ट पुर्णरुपमा सेतो छानाहरु र भुईहरु हिउँको थुप्रोले छोपिएका थिए । जिबनमा पहिलो पटक हिँउको प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा म निकै रोमान्चित थिएँ ।
| खुमङ्गजुङ गाँउ । |
बाबालाई फोटोहरुमा खुब रुचि छ । खुब फोटोहरु खिच्न चाहानु हुन्छ । तर फेशबुकमा पोष्ट गर्नको लागि फोटोहरु भएपुग्ने सामान्य फोटोखिच्ने हरुले त्यो फोटोहरुको प्रगाढ रुचि र चाहानालाई कसरि महशुस गर्न सक्छन र ? ऊनिहरुको लागि "कति फोटो खिचेको होला" भन्ने फ्रेजमा सिमित हुन्छ । कहिले त्यो फ्रेज मनमै दमित हुन्छ त कहिले ओठबाट बाहिर निस्कन्छ ।
म त्यो फोटोहरुको मोहको जेनेटिक सौखिन छोरा र त्यस सौखलाई अझै निपुण तथा ब्यबसायिक बनाउन खोज्दै गरेकोलाई फोटोहरु खिचेर कहाँ अघाउँछु होला र ।
स्वेएच्छिक यात्रामा निस्कँदा पनि निश्चित तालिका, दिन गन्ति, घडिको चालमा हिँड्नलाई कठोर नियममा रहने तथा सामान्य कार्यदिनहरुमा कहिलै हुनु नपर्ने समयनिष्ठ घुम्न हिँडेको बेला चाँहि बन्दै र रहँदै हतास मन र शरिरहरु देखेर म आजित भएको छु । यो यात्रामा पनि तेस्तै भयो । झन बढिनै भयो ।
जिबनमा पहिलो पटक पाईताला मुनि टेक्न पाईएको र प्रत्यक्ष देखेको हिँउलाई अलि फुर्सदले राम्रो महशुस गर्न पनि पाईएन । त्यो हिँउहरुको स्वछता महशुस गर्न पाईन । तिनिहरुको चमकलाई नियाल्न पाईन । रुखहरुको पातमा थुप्रिएका सेता हिँउहरुलाई नियाल्न पाईएन । पहिलो पटक देखेको हिँउहरुको मनग्य फोटोहरु खीच्न पाईन ।
ऊकालो चढ्दै गर्दा नै योजना बनाई सकेको थियौंकि , स्याङ्बोचेबाट हेलिकप्टरमा सल्लेरि फर्कने । मेरो योजना चाँहि फर्कने चाँहि हेलिकप्टरमा तर एक दिन या दुई दिनको बास तेतै नाम्चे बजार, वा आसपासका गाँउतिर बस्ने थियो तर यात्रारत दाजुहरु निकै हतार तथा हतासमा हुनुहुन्थ्यो ।
नाम्चेबजारबाट सँगै निस्किएका बिदेशिहरुको एउटा समुह कति आनन्दले एकैछिनको बाटो चढ्नासाथ फेरि बसेर तातो पेय पदार्थ पिईरहेका थिए, उनिहरुको फुर्सद देखेर म मोहित भएको थिएँ । मैले तेस्तै फुर्सदिलो यात्रा गर्न खोजेको थिएँ ।
हामिले Everest View Hotel को बाल्कोनि बाट Everest हेर्यौं । हामि भाग्यमानि यस अर्थमा थियौंकि अघिल्लो रात पानि परेपछि हिँउ परेको थियो तेसैले गर्दा निकै राम्रो सँग मौसम खुलेको थियो । Everest निकै राम्रो सँग देखिएको थियो ।
| View from the Hotel Everest View. From left to right: Taboche (6542m), Everest (8850m), Nupste (7861m) and Ama Dablam (6856m). |
Hotel Everest View चाँहि बिश्वकै सर्बाधिक उचाईमा बनाईएको होटल रे । खै मलाई चाँहि खासै बिश्वास लागेन ।
त्यो हिमालि चिसोमा, नजिकै थुप्रिएका हिँउहरुमाथि ऊभिएर बिशाल सगरमाथालाई हेर्दा निकै रोमान्चित महशुस गरें ।
हेलिकप्टर ढुक्नको लागि हामि स्याङ्बोचेतिर झर्दै गर्दाको त्यो हिँउले पुरिएको भिरालो पहाडको बिशाल फैलावट निकै मनहोहक थियो । अनगिन्ति फोटोहरु खिेचेरै नअघाईने थियो नि, त्यसमा पनि जिबनमा पहिलो पटक हिँउ सँगको सात्क्षाकार थियो ।
| स्याङ्गबोचे बिनास्थलबाट देखिएको |
हामिले स्यायाँङ्बोचेमा हेलिकप्टर कुर्दै गर्दा होटलको पहिलो तल्लामा बसेर चिया पियौं साथसाथै सँगै टेबलमा देखिएको म्यारिज खेल्ने तासको बुक देखेर तत्कालै तास खेल्नपनि भ्याईहाल्यौं । होटलभित्र लबिको सजावट सबैतिर आकर्षक हुने चाँहि तेता हिमालि भेगतिरको बिशेसतानै रहेछ । जहाँ बसेर हामि चिया पिउँदै तास खेल्दै थियौं त्यस होटलको लबिको साजसज्जा पनि बयान गर्न लायक आकर्षक थियो ।
हेलिकप्टरको आउने वा फर्कन पाईने नपाईने बुझ्न जाँदा भेट भएको कुकुर निकै सफा थियो । हिमालि हिँउभन्दा पनि चम्किलो सेतो रङ्गको त्यो कुकुरको नाम मैले सोध्न भ्याई हाले । कारसाँग । जस्तो ठाउँ तेस्तै नाम । मैले मेरो जेसिलाई खुब सँग मिस गरिसकेको थिएँ ।
हेलिकप्टर आयो !
अघिल्ला दिनहरुको हिँडाईले बेसरि दुखिरहेको दाहिने घुँडालाई धेरै दखल पुराएरै भएपनि कुद्दै कुद्दै आईपुग्नै थालेको हेलिकप्टर हेर्न म सकि नसकि खुङ्किलाहरु हुँदै तल चौरतिर छिटो छिटो कुदेको थिएँ, सँगै निस्किएको बिनय दाई निकै तल पुगि सक्नुभएको थियो । उता होटलको लबिबाट आषिश दाई र बाबा झोलाहरु बोकिदिएर तल आई सक्नु भएछ ।
अघि आईपुग्दा कोहि नदेखिएको हेलिकप्टर बसाउने चौरमा अलि धेरै मानिसहरुको चहलपहल देखेपछि फेरि ठाँउ नपाईएला भनेर हेलिकप्टर भएतिरै झुम्मिन गयौं । भर्खरै EVEREST BASE CAMP पुगेर फर्किएका बिस बाईसका केटाहरुको एउटा समुह पनि हेलि चढ्न आएका रहेछन् । तिनिहरु मध्येका एकजाना भाई निकै फरासिला रहेछन् । एकैछिनको भेटघाटमा पनि राम्रो सँग बोलचाल तथा एक समुहले अर्को समुहको फोटोहरु खिचिदिन भ्यायौं । ति केटाहरु खुब फुर्तिला तथा रोमान्चित भएर गफ गर्दै थिए । बेसक्याम्प तिरको हिँउको ठन्डिले होला ति केटाहरुको नाकको टुप्पा अलि अलि बर्न भएको थियो ।
अन्तत हेलिको लागि पैसा तिरेर तल सल्लेरि झर्ने पक्का भयो ।
मेरो चाँहि जिबनको पहिलो उडान थियो । सुनेको थिएँ कि पहिलो उडानमा मानिसहरु अलि भय अनुभब गर्छन । कसैलाई आफ्नो बनाउन खोज्दा र माया गर्नाले बनेको मनको ठुलो घाउले होला जिबनको मोह कम भईसकेको रहेछ । बाँच्नु या मर्नुमा खासै फरक नै नहुँदो रहेछ किनकि कसैलाई पाउन खोज्दा प्रत्येक क्षण मरेको जस्तै अनुभब भईरहने रहेछ । तेसैले मलाई कुनै भय भएन । मैले भिडियो बनाएँ तथा फोटोहरु खिचें ।
बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म चारदिन लगाएर हिँडेर पुगेको ठाऊबाट फर्कन जम्मा १५ मिनेट लागेछ । प्रबिधी लाई धन्यबाद दिनै पर्यो । नत्र दुखेको घुँडाले तल सल्लेरि आईपुग्न छ दिन जति लाग्ने थियो होला ।
लुक्का भन्ने ठाँउको शक्तिको प्रभाबले होला फाप्लु एयरपोर्ट चाँहि तेति प्रयोगमा रहेनछ । हामि सबैजनाले एयरपोर्टको बिच रनवेमा ऊभिएर फोटोहरु खिच्न भ्यायौं । बिजनेश तथा आफ्नो हितको लागि स्याङ्बोचेमा बन्न थालेको एयरपोर्टको काम अघि बढ्नै नदिई रोकाईएछ । यसमा आफ्नो फाईदाको लागि पैसा र शक्तिको प्रयोग भएको होला । सँग सँगै बनाउन शुरु गरिसकेको एयरपोर्ट नबन्दा अरु समुदाय जसले दू:ख पनि खेप्नु परेको छ ।
दाईहरु आफ्नो बिहानै देखिको हतास अनुरुप जिप खोजेर काठमाडौं तिर जानको लागि दौडमा हुनुहुन्थ्यो । मैले चाँहि हतासको यो दौडबाट बिश्राम लिएर फुर्सद रोजें । तेसै अनुरुप हामिले खोटाङ्गको हलेसि तिर जाने भयौं । दाईहरुलाई जिपमा बिदा दिएर हामि सल्लेरि बजारमा फुर्सदले बरालिन थाल्यौं ।
तर गाडि भनेजस्तो समयमा नपाउने भएपछि पाएको बस नै चढेर काठमाडौं नै फर्कने निधो गर्यौं ।
सल्लेरि बजारमा हामि बाउ छोराले बिहानको बात खायौं । हामि भात खान बसेको होटलको सँगैको अर्को टेबलमा एकजना सरकारि वकिल १०:३० बजे तिर दूई प्लेट मोमो र एक सिसि बियर पिउँदै थिए । मैले अडकल लगाएको ऊनि अब बिस्तारै तेति खाईसकेर अफिसतिर जाने होलान् । तर जे सुकै होस ति अधबैंशे उमेरका सरकारि कर्मचारि मनिसो आवाजमा खुब रसिला गफ गर्दै थिए । होटलमा भात खाएर पैसा तिर्नै थाल्दा भातको पैसा निकै सस्तो लाग्यो किनकि माथितिर भातको लागि हामिले ५०० रुपैँया सम्म तिरिसकेको थियौं, तर त्यहाँ जम्मा १५० तिर्नुपर्ने भएको थियो ।
एउटा ऊल्लेख गर्नै पर्ने प्रसंग चाँहि के थियो भने, हामि पहिलो दिन सल्लेरिमा बास बसेको होटलमा बाबाले कम्मर पेटि छुटाउनु भएको थियो , त्यो लिन होलटमा जाँदा मैले होटल साहुनिलाई देखेर परैबाट "चिन्नुभयो हामिलाई?" केभनेको थिएँ ति छुच्चिले उत्तर दिईन "सस्तो बेसार आयो" रे । तिनको छुद्र बोलि सुनेर म हैरान भएँ ।
बसको लागि सम्पर्क गरेको नम्बरबाट भनिएको थियो कि १:३० बजे बाटोमा बस्नु । त्यो बस त्यस भेगको लोकल बस रहेछ, जुन दिउँसो १:३० बजे सल्लेरिबाट छुटेर भोलिपल्ट काठमाडौं आईपुग्ने रहेछ । हामि करिब बाह्र बजेदेखि खाना खाइसकेर बसको पर्खाईमा यता उता सल्लेरि बजारको छेवैतिरको पाखातिर बरालिइरहेको थियौं । अन्तिम ५ दिन देखिको हिँडाईको थकाई तथा पछाडि भिरिएको ब्यागको भारिले गर्दा यता उता हिँड्न मन नलागेर, पारिपट्टि बिशाल पहाड देखिने सल्लाघारिको फेदिमा ब्याग बिसाएर बस्यौं ।
सडकको छेउछाउको घाँसहरु काट्ने तथा पानिको कुलेसो मर्मतको काम गर्ने सडक बिभागका एकजना बिक थर गरेका कर्मचारि हामि छेउमै आएर करिब एक घन्टा गफ गरेर बसे । गफको शिलशिलामा "दाई के थरको हो नि?" भनेर मैले गरेको प्रश्नमा निकै मसिनो अवाजमा उत्तर दिएका थिए "बिक" ।
हाम्रो ब्यागप्याक, आईफोनहरु तथा मैले प्रयोग गर्ने ठुलो तथा हेर्दा महँगो देखिने क्यामेराहरु देखेर तथा हामि काठमाडौंको बासिन्दा भन्ने गफको शिलशिलामा उनले थाहा पाएपछि उनलाई पनि काठमाडौंतिरै हामिले कतै राम्रो काम तिर लगाईदिए काठमाडौंकै बसाई गर्ने भित्रि ईच्छा गफमा झझल्किरहेको थियो ।
बसिरहेको पाखो सरेर फेरि अर्को पाखोमामा गएर बस्यौं तेसो गर्नुको भित्रि उदेश्य चाँहि ति दाईको गनथन सुन्न अल्छि लागेर थियो ।
ठुलो बसलाई परैबाट देखेपछि हतार हतार बाटोमा ओर्लियौं । पहिले हिलेपानि सम्म पुगेर हलेसि जाने भनेर चढेको बस पछि काठमाडौं नै आयौं ।
बसमा हामिभन्दा अगाडि सिटमा दुईजना फ्रेन्च पर्यटकको जोडि थिए । उनिहरुले पहाडि प्लेन तथा लुक्लाको एयरपोर्टको खतरनाक उडान देखि भयभित भएर बसको बिकल्प रोजेका रहेछन् । हाम्रो सामान्य सामाजिक संस्कार अनुरुप बिबाह गरेर लेराएको बुढि सँग त, कसैले नदेख्ने बेलामा रातमा बन्द कोठाभित्र मात्रै गर्नमिल्ने 'लिप्स किस' उनिहरु बसमा हामि भन्दा अघिल्लो सिटमा बसेर पटक पटक गरिरहेका थिए जुन पछाडि बसिरहेको मलाई बा को अगाडि बसेर देख्न पर्दा अलि असजिलो पक्कै थीयो । नदेखेको जस्तो गर्ने बाहेक बिकल्न थिएन ।
रात्रि समयको बस भएर, केहि असुरक्षित महशुस गरेर होला ट्रेकिङ्ग गरेर फर्किएका जस्तो देखिने हामिसँग उसले आफैंले बोल्ने चेष्टा देखाएर म भएतिर भएर नक्कलि मुस्कुरायो । मैले पनि मुस्कुराईदिँदै, "कताबाट आएको हो?" भनिदिएँ । मलाई पनि नयाँ संस्कृतिको मानिसहरु सँग कुरा गर्दा केहि नयाँ ज्ञान मिल्ने थियो नै ।
बसले युगकबि सिद्दिचरणको "मेरो प्यारो ओखल ढुङ्गा" मा आएर सानो बिश्राम लियो । जताततै अस्तब्यस्त तरिकाले बाटो छेउसम्मै बनाईएको पक्कि तथा कच्चि संरचनाहरु । जताततै खाल्डा खुल्डि परेको मुख्य हाईवे । मानिसहरुको सँख्या भन्दा धेरै पसल, होटल तथा बजार ।
| ओखलढुङ्गा बजार नजिकै । |
ति पातलि देखिने खैरेनि र त्यो अग्लो तालु भएको खैरेहरुको जोडि सँग मैले तेतिबेला सम्म कुराकानि गरिसेको थिईन । त्यो खैरेनि पदयात्राको कारणबाट भएको घुँडा दुखाईले गर्दा बस रोकेको मौकामा पटक पटक बसबाट बाहिर ओर्लिएर घुँडालाई सोझो पारेर दुखाईमा आहात प्राप्त गर्न खोज्दै गरेको कुरा उस्तै घुँडा दुखाई भैरहेको मैले सजिलै अनुमान लगाउन सक्थें ।
पाहाडि घुमाउरो भिरालो बाटोमा, बाटोको चौंडाईको तुलनामा निकै फराकिलो बस तिब्र राम्रै गतिले कुदिरहेको थियो । साँझ पर्न थालिसकेकोले मैले क्यामेराबाट फोटोहरु कैद गर्ने प्रयत्न गरिन । बसको सिटमा बाबाको देब्रे पट्टि सिसाको झ्याल सँगै बसेर बाहिर हेर्दै गर्दा सानो बेलामा मुग्लिन हुँदै मामाघर गएको कल्पना गर्न भ्याएको थिएँ तर समय निकै अगाडि बढिसकेको हुन्छ ।
मन तथा शरिर दुबैले, हामि भन्दा ठिक अगाडि सिटमा भएका जोडि जस्तै गरि जोडि बनेर तेसैगरि हिँड्ने चहाना गर्न थालिसकेको हुने रहेछ । तरपनि बाबाको सामिप्यता प्यारो नभएको चाँहो होईन । त्यसरि घुम्न जान पाउनु मेरो लागि निकै प्यारो अनुभब थियो र यसमा अर्थमा म निकै भाग्यमानि छु ।
रातिको समयमा बि पी हाईवे भएर गाडि गुडाउन नपाईने कारणले गर्दा बस राति अगाडि जाँदैनरे भन्ने थाहा भयो । बसले रातिको लागि रोक्नलाई होटलको आँगनमा मिलाएर पार्किङ् गर्यो । हामिले खाना खायौं । त्यो जोडि हरुमध्ये केटाले चाँहि खाना खायो । केटिले कहिपनि नखाई तेतिकै बसिरहि ।
हामिले खाना खाएपछि उनिहरु सँग केहिबेर गफ गर्यौं । तर गफ निकै मजाको भएको थियो किनकि उनिहरु साँच्चिकै हामि सँग कुरा गर्न चाहिरहेका थिए । ऊनिहरुले निकै नेपाली शब्दहरु तथा दुई चार ओटा नेपाली बाक्य सिकिसकेका रहेछन् । केटि खुब मज्जाले खुलेर म सँग गफ गर्न रुचाई रहेकि थिई । केटा मोबाईलमा आफ्नो देशको नक्सा मलाई देखाईरहेको थियो । बच्चै देखि बिदेशि गियोग्राफि पढेर, युरोप र बाँकि बिश्वको ईतिहाँसको केहि तथ्य समेत लेखेर परिक्षाहरु पास गरेर बयस्क भएको मलाई उसको देश नपुगेतापनि त्यस देशको अबस्थितिको बारेमा राम्रो ज्ञान थियो ।
खाना खाएर त्यो साँघुरो बसको सिटमा सुत्न खोज्दा अप्ठेरो भएपछि एकैछिन बाहिर तिर एक्लै बरालिएँ । पहाडको त्यो खोँचमा अन्धकारमा हाईवेको छेउमा एकैछिन बस्दा किराहरुको र आकल झुकल आउने गाडिको अवाज सुनिन्थ्यो ।
राति पछि तेहि सटिमा मस्त निदाएछु ।
बिहानको चिया नास्ता पछि जति जति काठमाडौंतिर गाडि अगाडि बढ्छ त्यतिनै अस्तब्यस्तता भिड तथा कोलाहालको महशुस हुने रहेछ । त्यति प्राकृतिक सौन्दर्य र मनोरम भुगोलबाट शहरि कोलाहाल तर्फ आउँदै गर्दा साह्रै नमजा लाग्ने रहेछ । तैपनि आफ्नो घर जाँदै गरेको भएर होला मनमा दमित हर्ष त हुने नै भयो नि ।
मैलै खुब राम्रो समय बिताउन पाएँ ।
यात्रा मिति : २०७४ / १२ / २४ गते शनिबार शुरु ।
२०७४ / १२ / ३० गते घर आईपुगेको ।
पुनश्च : लेखकको लिखित अनुमति बिना यस यात्रा संस्मरणको कुनैपनि अंश अन्यत्र छाप्न वा प्रकाशित गर्न वा पुन्रउत्पादन गर्न पाईने छैन । अन्यथा कानुनि कारबाहिको प्रकिया अगाडि बढाउनको लागि लेखक सक्षम रहेका छन् ।
पुनश्च : लेखकको लिखित अनुमति बिना यस यात्रा संस्मरणको कुनैपनि अंश अन्यत्र छाप्न वा प्रकाशित गर्न वा पुन्रउत्पादन गर्न पाईने छैन । अन्यथा कानुनि कारबाहिको प्रकिया अगाडि बढाउनको लागि लेखक सक्षम रहेका छन् ।
********************************************************************************
Labels: Everest Base Camp, Namche Bazar, Travel Diary, Travel Memoir, यात्रा संस्मरण


